सिरहा घटनाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो स्पष्टिकरण



काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सिराहा घटनाबारे भ्रम छर्न खोजिएको बताएका छन् । शनिबार सिराहामा उनी सहभागी कार्यक्रममा  आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले विरोध गरेपछि मन्त्री पोखरेलले सम्बोधन रोकेर कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

अन्तरक्रियामा धेरैको आवाज सुन्ने प्रयत्नमा रहेको र केही व्यक्तिले होहल्ला गरेको विषयलाई लिएर भ्रम छर्न खोजिएको मन्त्री पोखरेलको भनाइ छ । ”आज सिराहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौँ,” उनले भनेका छन् । 

उनको भनाइ जस्ताको तस्तै,
अहिले हामी मधेश प्रदेशमै छौँ । नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि हिजोदेखि मधेशका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसस्तरमै पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव सङ्कलन गरिरहेका छौँ । आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गरी ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नवीन अवधारणा समेट्ने विषयमा पनि प्रत्यक्ष संवाद गरिरहेका छौँ ।

आज सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो । तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौँ ।

त्यही घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको छ। लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ। तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन ।

कुनै भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको हाम्रो मूल उद्देश्यलाई रोक्न सक्दैन । सो घटनापछि पनि हामी सिरहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गर्यौँ । आज मात्रै करिब ८–१० वटा विद्यालयमा पुगेर अत्यन्त फलदायी रूपमा सुझाव सङ्कलन गरेका छौँ। भोलि सप्तरीबाट मोरङतर्फ लाग्दैछौँ ।

मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका सकारात्मक काम देखेर असन्तुष्टि हुनु स्वाभाविक होला। तर, त्यसैका आधारमा भ्रम फैलाउनेभन्दा हामीले गरिरहेको कामलाई जनताले आफैँ मूल्याङ्कन गर्न दिनु राम्रो हुन्छ ।

हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ। हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन्।