काठमाडौं, भदौ २८ । रुकुमपश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान सानीभेरी गाउँपालिका–६ को कोटगाउँबाट पालिकाको केन्द्र सिम्ली हुँदै जिल्ला सदरमुकाम खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप वडा नम्बर ३ र ६ को सिमाना डाङडुङ्गेमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक र एक जना महिला रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी रहेको छ ।
स्थानीयका अनुसार जिपमा ११ जना सवार थिए । जिपधनी बलबहादुर पुनसहित नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । सानीभेरी गाउँपालिकाले घाइतेहरूको तत्काल उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ । घटनास्थलमा डीएसपी पौडेलको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया