काठमाडौं । रुकुमपश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान सानीभेरी गाउँपालिका–६ को कोटगाउँबाट पालिकाको केन्द्र सिम्ली हुँदै जिल्ला सदरमुकाम खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप वडा नम्बर ३ र ६ को सिमाना डाङडुङ्गेमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १५–१६ वर्षीया प्रेमकला पुन रहेका छन् ।
दुर्घटनामा नौ जना घाइते भएका छन् । तीमध्ये तीनदेखि चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको छ ।
गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ । सानीभेरी गाउँपालिकाले घाइतेको उद्धारका लागि हेलिकप्टर उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्राचार गरेको छ ।
गाउँपालिकाको मागअनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए ।
सानीभेरीदेखि सुर्खेतसम्म हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्नुपर्ने अवस्था रहेकाले गाउँपालिकाले उद्धार खर्च व्यहोर्ने गरी तत्काल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेको उनले बताए ।
दुर्घटनापछि स्थानीय, प्रहरीलगायतको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया