‘ऋषि धमलाले पत्रकारितालाई राजनीतिक नियुक्तिको भर्‍याङ बनाएनन्’ : स्वागत नेपाल


काठमाडौँ । सञ्चार क्षेत्रको प्रमुख मञ्च मानिने रिपोर्टर्स क्लब नेपाल पुनः सञ्चालनमा आएको छ। क्लब खुलेपछिको पहिलो उद्घाटन साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तथा अभियन्ता स्वागत नेपालले रिपोर्टर्स क्लब भाषण गर्ने थलो मात्र नभई नेपाली सञ्चारकर्मीहरूका लागि सूचना र समाचारको मुख्य स्रोतका रूपमा स्थापित भइसकेको दाबी गरे।

क्लबका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमलाको निरन्तरको ऊर्जा र कार्यशैलीको प्रशंसा गर्दै नेपालले सञ्चारकर्मीहरूका लागि धमलाको दैनिकी आफैँमा एउटा अनुकरणीय पाठ भएको बताए। बिहान साढे चार बजे नै मिडिया हाउस पुग्ने र आम नागरिक निदाएको समयमा पनि समाचार कर्ममै तल्लीन रहने धमलाको निष्ठा अहिले पनि पूर्ववत् कायम रहेको उनको भनाइ थियो।

‘मिहिनेत र लगनशीलताका साथ अघि बढ्न चाहने जोकोहीका लागि ऋषि धमलाको कार्यशैली एउटा महत्त्वपूर्ण सिकाइ हुन सक्छ’, नेपालले भने।

धेरैजसोले पत्रकारितालाई सत्ता वा राजनीतिक नियुक्तिको भर्‍याङ बनाउने गरेको वर्तमान परिदृश्य औँल्याउँदै उनले ऋषि धमलाले कहिल्यै त्यस्तो बाटो नरोजेको स्पष्ट पारे।

यसका साथै क्लबले श्रमजीवी पत्रकारहरूलाई प्रोत्साहित र उत्साहित बनाउन नियमितरूपमा पुरस्कार तथा सम्मानको व्यवस्था गर्दै आएको विषयलाई पनि उनले विशेष महत्त्वका साथ उल्लेख गरे।

साक्षात्कारका क्रममा अधिवक्ता नेपालले स्थानीय शासन प्रणालीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने एजेन्डा अघि सारेका छन्। स्थानीय तह नागरिकको घरदैलोको सरकार भएकाले यसलाई दलगत भागबन्डा र राजनीतिबाट मुक्त गराउनुपर्ने उनको तर्क थियो।

गैरदलीय स्थानीय तहको स्थापनाका लागि यदि ऋषि धमलाले स्वतन्त्र नागरिक अभियानका तर्फबाट नेतृत्व गरे आफ्नो पूर्ण साथ, सहयोग रहने घोषणासमेत वरिष्ठ अधिवक्ता नेपालले गरे।