‘वंशजको नागरिकता खोस्न पाइँदैन, बालेन सरकारले निरन्तरता देओस्’- खनाल


काठमाडौँ । अधिवक्ता एवं विश्लेषक रन्जन खनालले वंशजको नागरिकता नागरिकको मौलिक अधिकार भएकाले यसलाई खोस्न नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अधिवक्ता खनालले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ हुने धारणा राख्दै वंशजको नागरिकता खोस्ने कार्य पूर्ण रूपमा अवैध भएको दाबी गरे ।

‘वंशजको नागरिकता खै’ भन्ने अभियान देशभित्र मात्र सीमित नभई विश्वभर चलेको छ,’ खनालले भने, ‘कागजमा खोसेर नागरिकता निषेध गर्न सकिँदैन । जेन-जी विद्रोहपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले चुनावका क्रममा वंशजको नागरिकताको निरन्तरता दिने बाचा र करारनामा नै बाँडेको थियो । त्यसैले बालेन सरकारले यसलाई निरन्तरता दिनैपर्छ ।’

नागरिकताजस्तो संवेदनशील विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको धारणा स्पष्ट हुनुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले वंशजको नागरिकताबारे आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्नुपर्ने खनालको माग थियो ।

कार्यक्रममा खनालले देश जटिल मोडमा रहेको र सरकार विकास तथा अर्थतन्त्र सुधारमा अलमलिएको टिप्पणी गरे । सरकारले समृद्धिका काममा ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै उनले स्थानीय तहको चुनाव गैरदलीय आधारमा हुनुपर्ने धारणा राखे ।

‘हिजो काठमाडौँ महानगरमा बालेन शाह पनि लौरो चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा उठ्नुभएको हो,’ खनालले भने, ‘अब पाँच वर्षसम्म प्रधानमन्त्री बालेनले निर्धक्कसँग काम गर्नुपर्छ र रास्वपा सभापति रवि लामिछानेले बालेनलाई पूर्ण सहयोग गर्नुपर्छ ।’

यसैगरी, खनालले अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने युग सकियो’ भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । उक्त अभिव्यक्ति देशको स्वाभिमानविपरीत भएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री बालेनले अर्थमन्त्री वाग्लेलाई तुरुन्त स्पष्टीकरण सोधेर पदबाट बर्खास्त गर्नुपर्छ ।’