रिपोर्टर्स क्लब बन्द गराएर बालेनले कस्तो लोकतन्त्रको नमुना देखाए ?


काठमाडौँ । रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला राजनीतिमा होमिन खोज्दा आफूहरू खिन्न भएको स्मरण गर्दै उनलाई पत्रकारितामै निरन्तरता दिन सुझाव दिए।

“ऋषि धमला चुनावमा जाँदा हामी खिन्न भएका थियौँ। उहाँ नेता, मन्त्री हुनुहुन्थ्यो होला, तर मिडिया क्षेत्र टुहुरोजस्तै हुन्छ भन्ने लागेको थियो,” डा. केसीले भने, “उहाँ पुनः आफ्नै पेसामा फर्किँदा म मनमनै प्रसन्न भएँ। मैले उहाँलाई आफ्नो पेसामा फर्केर क्लब सुचारु गर्न र पहिलो वक्ताका रूपमा मलाई नै बोलाउन भनेको थिएँ।”

मिडिया सञ्चालनमा परेको अड्चनबारे बोल्दै केसीले बालेन सरकारको नियतमाथि प्रश्न उठाए। “यता बालेनले क्लब बन्द गरिदिए। ऋषिजी ऋणपान गरेर सरकारलाई बुझाउनुपर्ने रकम तिर्न खोज्दै हुनुहुन्थ्यो, तर बालेनको नियत भने क्लबलाई त्यहाँबाट लखेट्ने नै थियो,” केसीले आरोप लगाए, “जे भए पनि क्लबको यो दोस्रो जीवनको पूर्ण सफलताको कामना गर्दछु।”

यसैक्रममा उनले ऋषि धमलालाई राजनीतिभन्दा पत्रकारिता क्षेत्रमै सफल भइरहने सल्लाह पनि दिए।

बदलिँदो मिडिया परिदृश्यबारे टिप्पणी गर्दै प्रा. डा. केसीले सामाजिक सञ्जालको प्रभावले मूलधारका ठूला मिडियाहरूको साख र पहुँचमा चुनौती थपिएको बताए।

“आजकल सामाजिक सञ्जाल र डिजिटल मिडियाका कारण ठूला मिडिया कसैले पढ्दैनन्, हेर्दैनन्” उनले भने, “यस्तो अवस्थामा उदाउँदै गरेका नयाँ र सामाजिक मिडियाहरू झन् बढी जिम्मेवार, प्रोफेसनल र प्रतिबद्ध हुनुपर्छ।”

सोही अवसरमा बोल्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बालेन सरकारका पछिल्ला निर्णयहरूको कडा आलोचना गरे। उनले सरकारका कदमहरू लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको दाबी गरे।

“बालेन शाहको नेतृत्वमा सरकार बन्यो, तर यो सरकार आउनेबित्तिकै विद्यालयहरूमा कर लगाउने काम भयो,” त्रिपाठीले प्रश्न गरे, “रिपोर्टर्स क्लबजस्तो मञ्च बन्द गराएर सरकारले लोकतन्त्रको कस्तो नमुना प्रस्तुत गर्न खोजेको हो ?

मुलुकको समग्र आर्थिक तथा कानुनी अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्रिपाठीले नेपाल हाल अन्तर्राष्ट्रिय स्तरमा ‘ग्रे लिस्ट’मा रहेको र स्थिति नसच्चिए ‘ब्ल्याक लिस्ट’मा पर्ने जोखिम बढेको चेतावनी दिए। अब नागरिक र बुद्धिजीवी वर्गले सरकारका यस्ता गलत कदमविरुद्ध निरन्तर खबरदारी गर्नुपर्नेमा उनले जोड दिए।