‘हामीले चाहेको भए छुट्टै सेना र व्यवस्था बनाउन सक्थ्यौँ, तर संविधानभित्रै रहेर परिवर्तन रोज्यौँ’ : अर्जुन शाहि


काठमाडौं । जेनजी रिभोलुशन कोर्डिनेटर तथा अन्तरिम सरकार निर्माण वार्ता कमिटि सह-संयोजक अर्जुन शाहीले जेनजी आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्।

आन्दोलनको समयमा जनआन्दोलनको खिसीट्युरी गर्नेहरू अहिले मन्त्री बनेर पर्दापछाडिबाट आन्दोलनलाई अपराधीकरण गर्न खोजिरहेको उनको आरोप छ। ‘आलोचना र मिडिया ट्रायलबाट हामी डराएर भाग्ने मान्छे होइनौँ,’ शाहीले भने, ‘हामी डराएको भए जेन्जी आन्दोलनको त्यो आँधीबेहरी आउने थिएन। भ्रष्टाचारमा मुछिएका पात्रहरूविरुद्ध कारबाही गर्न र पुराना शासकहरूलाई सत्ताबाट हटाउन हामीले साहस गर्ने थिएनौँ।’

उनले जेन्जी आन्दोलनलाई अपराधीकरण गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। राज्यसत्ताले फेरि त्यस्तो प्रयास गरे आन्दोलनका योद्धाहरूले त्यसलाई सहन नसक्ने उनको चेतावनी छ।

‘यो आन्दोलनप्रति, देश र जनताप्रति कुनै किसिमको गद्दारी यो सरकारले गर्छ भने जेन्जी आन्दोलनका योद्धाहरूलाई त्यो सह्य हुने छैन,’ उनले भने, ‘जसले आन्दोलन गरेर कुर्सीमा राख्न सक्छ, त्यसले कुर्सीबाट लतारेर सडकमा पछार्न पनि सक्छ। यो कुरा सरकारमा बसेका मानिसहरूले राम्ररी याद राखून्।’

शाहीले संविधानभित्रै रहेर आमूल परिवर्तन गर्ने निर्णय आफूहरूले गरेको बताउँदै छुट्टै सेना वा छुट्टै व्यवस्था निर्माण गर्न सक्ने अवस्था हुँदाहुँदै पनि देशमा शान्तिपूर्ण निकासका लागि संविधानलाई अक्षुण्ण राख्ने बाटो रोजेको बताएका छन्। ‘हामीले चाहेको भए छुट्टै सेना र व्यवस्था बनाउन सक्थ्यौँ, तर संविधानभित्रै रहेर परिवर्तन रोज्यौँ,’ उनले भने ।

भाद्र २४ २०८२ को रात सम्झँदै शाहीले तत्कालीन राज्यसत्ताका निकायले आफू र गृहमन्त्री सुदन गुरुङलाई मार्न बर्दीधारी तथा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको दाबी गरे। उक्त रात आफूहरूले करिब २५ ठाउँमा लोकेसन परिवर्तन गर्नुपरेको उनको भनाइ छ।

‘हामी मरे पनि यही माटोमा मरिन्छ। हामीले हाम्रो पुस्ताका लागि जे गर्नुपर्ने थियो, गरिसक्यौँ। अब हामीजस्ता हजारौँ सुदन र अर्जुन जन्मिसकेका छन्’ भन्ने भावका साथ आफूहरूले आन्दोलन अघि बढाएको उनले बताए।

उनका अनुसार जेन्जी आन्दोलनको उद्देश्य एउटा पात्रलाई हटाएर अर्को पात्रलाई सत्तामा पुर्‍याउनु मात्र नभई राज्य प्रणालीमा व्यापक सुधार गर्दै जनताको वर्तमान, भविष्य र जीवनस्तरमा परिवर्तन ल्याउनु थियो।

उनले आन्दोलनपछि बनेको वर्तमान सरकारप्रति आफूहरू एकातर्फ उत्साहित र अर्कोतर्फ चिन्तित रहेको बताए। युवाहरूको आशा र भरोसामा बनेको सरकार व्यक्तिगत स्वार्थ र आपसी द्वन्द्वमा फस्यो भने देश सामाजिक, आर्थिक तथा भौतिक रूपमा थप क्षतविक्षत हुने र नेपाल पुनः दशकौँ पछाडि धकेलिन सक्ने उनको भनाई छ।

शाहीले सरकारको मुख्य चुनौती कर्मचारीतन्त्र र राज्य प्रणालीमा आमूल परिवर्तन गर्नु रहेको बताए। सरकार र कर्मचारीतन्त्रबीच बढेको अविश्वास समाधान गर्नुपर्नेमा पनि उनले जोड दिए।

‘नयाँ हुनुको अर्थ पुरानालाई गाली गरेर दोष थुपार्नु मात्र होइन,’ शाहीले भने, ‘नयाँ हुनु भनेको हिजोभन्दा बढी जिम्मेवार, परिस्कृत, लोकतान्त्रिक, सहनशील र परिपक्व हुनु हो।’

उनले जेन्जी आन्दोलनले पुरानो शासन व्यवस्था परिवर्तन गरे पनि समाजमा रहेको चाकरीतन्त्र, आसेपासेतन्त्र र सिंहदरबारबाट जनतालाई हेर्ने पुरानो दृष्टिकोण अझै परिवर्तन हुन नसकेको टिप्पणी गरे।

शाहीले जनताले आफ्नो दैनिक जीवनमा परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न नसकेसम्म सरकारप्रतिको विश्वास बलियो हुन नसक्ने बताए। उनले जेन्जी आन्दोलनका घाइते, सहिद परिवार तथा आन्दोलनका योद्धाहरूको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने माग गरे। आन्दोलनका क्रममा झुट्टा मुद्दामा कारागार पुर्‍याइएकाहरूको तत्काल बिनासर्त रिहाइ गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।

उनले सरकारलाई व्यक्तिगत स्वार्थ र टकरावभन्दा माथि उठेर सहिद तथा घाइतेहरूको सपना र आन्दोलनको उद्देश्यअनुसार अघि बढ्न आग्रह गरे। ‘इतिहासले साहस गर्नेहरूलाई सम्झन्छ। त्यो सम्झना नायकका रूपमा हुन्छ वा पतनका रूपमा, त्यो आजका निर्णय र कार्यले निर्धारण गर्नेछ,’ शाहीले भने।

उनले प्रधानमन्त्री बालेन शाह अब व्यक्ति मात्र नभई देशको प्रधानमन्त्री भएकाले उनका प्रत्येक निर्णय र अभिव्यक्तिको जनताले हिसाब माग्ने बताए। शाहीले पुराना राजनीतिक दलहरूलाई समयमै सुधारिन आग्रह गरिए पनि उनीहरू तयार नभएको उल्लेख गर्दै अब राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधार आवश्यक रहेको बताए।

‘जुन संस्थाभित्र प्रश्न मर्छ, त्यो संस्थाले समाजमा प्रश्न गर्न सक्दैन। जसले प्रश्न गर्न सक्दैन, उसले उत्तर पनि खोज्न सक्दैन,’ उनले भने।