काठमाडौँ। वर्तमान राजनीतिक व्यवस्था र २०७२ को संविधानप्रति तीव्र असन्तुष्टि जनाउँदै शाही युवा शक्ति नेपालले आगामी असोज ३ गते राजधानीमा विरोध र्याली आयोजना गर्ने भएको छ। संविधान दिवसकै अवसर पारेर दिउँसो १ बजे रत्नपार्कबाट शान्तिपूर्ण प्रदर्शन निकाल्ने तयारी आयोजकको छ।
शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काका अनुसार २०७२ सालमा जारी गरिएको गणतान्त्रिक संविधान खारेज गरी राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना गर्न तथा वैदेशिक मोडलको संघीयता खारेज गर्न दबाब दिने उद्देश्यले यो प्रदर्शन आयोजना गर्न लागिएको हो।
वर्तमान व्यवस्थाले देशमा राजनीतिक स्थायित्व र राष्ट्रिय एकता कायम गर्न नसकेको दाबी गर्दै खड्काले राष्ट्रपति पद पूर्ण रूपमा खारेज हुनुपर्ने र पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राष्ट्रप्रमुखका रूपमा घोषणा गरिनुपर्ने धारणा व्यक्त गरे। उनले राष्ट्रिय एकता र जनभावनालाई सम्बोधन गर्न बालेन नेतृत्वको सरकारले यस विषयमा थप ढिलाइ गर्न नहुने तर्कसमेत गरे।
आयोजकका अनुसार विरोध र्याली पूर्णरूपमा अनुशासित र शान्तिपूर्ण हुनेछ। संस्थाले राजसंस्था, हिन्दू राष्ट्र र एकात्मक राज्य प्रणालीका पक्षमा रहेका आम नागरिकहरूलाई असोज ३ गते रत्नपार्कमा उपस्थित भई र्यालीमा सहभागी हुन सार्वजनिक आह्वान गरेको छ।







प्रतिक्रिया