भोटेकोशी बाढी: विपद् व्यवस्थापनका लागि सात दिनभित्र सर्वदलीय संयन्त्र बनाउन दलहरू सहमत


काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित विपद्को व्यवस्थापन, राहत, पुनर्स्थापना र दीर्घकालीन नीतिगत कामका लागि सर्वदलीय संयन्त्र गठन गरिने भएको छ।

बुधबार बसेको सर्वदलीय बैठकले अबको सात दिनभित्र संयन्त्र गठन गर्ने विषयमा सहमति गरेको हो। बैठकपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल भएको जानकारी दिए।

उनका अनुसार विपद्बारे संसदीय समितिमार्फत छानबिन गर्ने विषयमा समेत छलफल भएको छ। बैठकमा ‘सनसेट ल’ लागू गर्ने विषयमा पनि छलफल भएको उनले बताए। रसुवामा भदौ १० गते विनाशकारी बाढी आएपछि त्यसको भोलिपल्टै रास्वपा सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरेका थिए।

त्यसपछि बसेको सर्वदलीय बैठकमा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी भएका थिए। बैठकमा लामिछानेले उद्धार र राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सहयोग पुग्ने गरी सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा सहभागी दलहरूले सहमति जनाएका थिए।

सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा सुधार तथा सरकारका कामकारबाहीमा निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्ने विषय समेटिएको थियो।

यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले पनि संयन्त्र गठन गर्ने सहमति गरेको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको थिएन। बुधबारको बैठकले भने संयन्त्र गठनका लागि सात दिनको समयसीमा नै तोकेको छ। नयाँ बन्ने संयन्त्रले तत्कालीन विपद् व्यवस्थापनसँगै विपद्पूर्व तयारी, जलवायुजन्य जोखिम न्यूनीकरण र दीर्घकालीन नीतिगत सुधारका विषयमा समेत काम गर्ने अपेक्षा गरिएको छ।