नारायणगढ (चितवन), ३१ भदौ । रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेकामध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको हो । पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उनले जानकारी दिए ।
पहिचान खुल्न नसकेका ३४९ शवको सुरक्षित व्यवस्थापन गरिसकिएको प्रहरी उपरीक्षक पौडेलले बताए । हाल एउटा शवको मात्र व्यवस्थापन गर्न बाँकी छ । व्यवस्थापन गरिएका सबै शवको डिएनए नमूना सुरक्षित राखिएको उनले बताए ।
हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डिएनए नमूना सङ्कलनलाई पनि प्राथमिकता दिएको छ । डिएनए नमूना सङ्कलन गरी विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।




प्रतिक्रिया