सहसचिव कालीप्रसाद पराजुली सचिवमा बढुवा


काठमाडौँ । निजामती प्रशासनका वरिष्ठ सहसचिव कालीप्रसाद पराजुली विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा भएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिको सिफारिसका आधारमा पराजुलीलाई सचिव पदमा पदोन्नति गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले पराजुलीलाई सचिवमा बढुवा गरिएको जानकारी दिए।

यसअघि लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम मन्त्रिपरिषद्मा पठाएको थियो।

समितिले योग्यताक्रम अनुसार क्रमश कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले पठाएको सोही योग्यताक्रमको पहिलो नम्बरमा रहेका पराजुलीलाई नै सरकारले सचिव बनाउने निर्णय लिएको हो।