सेती नदीमा कुकुर फालेको भिडियो भाइरल भएपछि प्रहरी एक्सनमा


बझाङ । सदरमुकाम नजिकैको पानकोट पुलबाट एक महिलाले जिउँदो कुकुरलाई निर्दयीरूपमा सेती नदीमा फालेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। असहाय जनावरमाथि अमानवीय व्यवहार गरिएको दृश्य सामाजिक सञ्जालमा बाहिरिएसँगै दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै जनस्तरमा चौतर्फी आक्रोश व्यक्त भइरहेको छ।

घटनाबारे जानकारी पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय बझाङले प्रहरी टोलीलाई घटनास्थलमा खटाएर सूक्ष्म अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार पानकोट पुल आसपास निरीक्षण गरिए पनि नदीमा फालिएको कुकुर फेला पर्न सकेको छैन। कुकुर जीवित छ या छैन भन्नेबारे अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दा तथा पशु अधिकारकर्मीहरूले दोषी महिलालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।