काठमाडौँ । सरकारले प्रशासनिक कार्यशैलीलाई सरलीकरण र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो।
यसैगरी बैठकले शेयर बजारको लाभकर, वैदेशिक रोजगारीमा रहेका नेपालीको क्षतिपूर्ति र विशिष्ट श्रेणीको बढुवासम्बन्धी विभिन्न महत्त्वपूर्ण निर्णयहरूसमेत गरेको छ।
मन्त्रिपरिषद्का निर्णयहरू
– सरकारी सेवा प्रवाह र आन्तरिक निर्णय प्रक्रियालाई थप छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकारी निर्णय प्रक्रिया, सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ पारित गरिएको छ।
– नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हित निसर्गबाट प्राप्त लाभमा प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्व रहेका धितोपत्रमा ३.५ प्रतिशत र ३ सय ६५ दिन वा सोभन्दा कम अवधि स्वामित्व रहेकामा ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय भएको छ।
– राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरिएको छ।
– सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरिएको छ।
– साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा र क्षतिपूर्ति रकम दाबीका लागि स्थानीय साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा दिई कानुनी प्रक्रिया अघि बढाउनेसम्बन्धी विशेष आदेश जारी गरिएको छ।
– विपद् तथा आपत्कालीन व्यवस्थापनलाई प्रभावकारी बनाउन चक्रीय राहत कोष सञ्चालन कार्यविधि–२०८३ स्वीकृत गरिएको छ।




प्रतिक्रिया