काठमाडौँ — जेनजी शहीदका पिता एवम् जेनजी कल्याणकारी कोषका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले शहीद परिवार र घाइतेहरूको अपमान गरेको भन्दै तत्काल माफी नमागे रास्वपा केन्द्रीय कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लबमा जेनजी शहीद परिवार र घाइतेहरूद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै चौलागाईंले रास्वपाका महामन्त्री विपिन आचार्यले संसद्मा आफूहरूलाई ‘अतिवादी र आतंकवादी’ जस्तो चित्रण गरेर घोर अपमान गरेको आरोप लगाए । शहीदको रगत र बलिदानकै जगमा रास्वपा आजको अवस्थामा आइपुगेको स्मरण गराउँदै उनले महामन्त्री आचार्यले संसद्मा बोलेका अपमानजनक शब्दहरू संसद्को रेकर्डबाट तत्काल हटाउनुपर्ने माग गरे ।
त्यस्तै, रास्वपा सचेतक क्रान्तिशिखा धितालले ‘जेनजी शहीद स्मृति दिवस’लाई ‘कन्सर्ट’ को संज्ञा दिएकोमा चौलागाईंले कडा आपत्ति जनाए । “कार्यक्रम कसरी मनाउने भनेर कुनै सुझाव वा सहयोग नगर्नेहरूलाई कार्यक्रममाथि अपमान गर्ने कुनै अधिकार छैन,” उनले भने, “शहीद र घाइतेहरूको अवहेलना हामी कुनै पनि हालतमा सहन सक्दैनौँ।”
रास्वपा नेताहरूले संसद्मा दिएको अभिव्यक्ति नसच्याए र सार्वजनिक रूपमा माफी नमागे शहीद परिवार र घाइतेहरू मिलेर रास्वपा कार्यालय घेर्नेसम्मका कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने चौलागाईंले स्पष्ट पारे ।




प्रतिक्रिया