काठमाडौँ । जेनजी आन्दोलनका घाइते अशोक घोरासैनीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शहीद तथा घाइतेहरूप्रतिको दायित्व भुलेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबमा जेनजी शहीद परिवार र घाइतेहरूद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै घोरासैनीले रास्वपाका नेता तथा सांसदहरूले घाइते र शहीद परिवारको भावनामा ठेस पुर्याएकाले तत्काल माफी माग्नुपर्ने माग गरे ।
जेनजी आन्दोलन भएको एक वर्ष पूरा भइसक्दा पनि आन्दोलनका माग र मुद्दाहरू कति कार्यान्वयन भए भन्नेबारे समीक्षा हुनुपर्नेमा सरकारमा रहेको रास्वपाले त्यसलाई पूर्ण रूपमा बेवास्ता गरेको उनको भनाइ थियो । “वैकल्पिक शक्ति रास्वपा सरकारमा छ, त्यसैले रास्वपाका सबै सांसदहरूको दायित्व जेनजी शहीद स्मृति दिवस मनाउनु र मुद्दाहरूको मन्थन गर्नु थियो,” घोरासैनीले भने, “तर रास्वपाका सांसदहरूले त्यो दायित्व नै बोध गर्नुभएन ।”
स्मृति दिवसजस्तो मर्यादित कार्यक्रममा केही छिटपुट कमी-कमजोरी भएका भए हातेमालो गरेर सच्याउनुपर्नेमा उल्टै आलोचना गरिएकोमा उनले तीव्र असन्तुष्टि व्यक्त गरे । रास्वपा सचेतक क्रान्तिशिखा धिताल र महामन्त्री विपिन आचार्यको भनाइप्रति कडा आपत्ति जनाउँदै उनले थपे, “स्मृति दिवसमा हातेमालो गरौँ भन्नुपर्ने ठाउँमा क्रान्तिशिखा धिताल र विपिन आचार्यले उल्टै आलोचना गर्नुभयो । उहाँहरूको यस्तो अभिव्यक्तिले जेनजी घाइते र शहीद परिवारको भावनामा गहिरो ठेस पुगेको छ, उहाँहरूले यसप्रति तत्काल माफी माग्नुपर्छ।”




प्रतिक्रिया