काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वर्तमान बालेन शाह नेतृत्वको सरकारलाई जनअपेक्षाअनुसार सुशासन कायम गर्न र अन्तर्राष्ट्रिय मञ्चमा देशको शिर ठाडो पार्ने गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न सशक्त आह्वान गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय जेनजी नागरिक अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै धमलाले त्रिपुरेश्वरमा सवारी चालक दावा लामाले गरेको आत्मदाहको प्रयासलाई अत्यन्तै हृदयविदारक घटनाको रूपमा चित्रण गरे। हत्केलामा जीवन राखेर गाडी गुडाउने चालकहरूको योगदानको कदर हुन नसकेको उनले बताए। त्रिपुरेश्वर घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र चालकहरूलाई रोजगारीको व्यवस्था मिलाउन उनले सरकारसँग कडा माग गरे।
कार्याक्रममा बोल्दै अध्यक्ष धमलाले दुई तिहाइको शक्तिशाली सरकार निर्माणमा युवा पुस्ता (जेनजी) को ऐतिहासिक र अतुलनीय योगदान रहेको स्मरण गराए। ‘बालेन सरकार गठन हुँदा देशभरका जेनजी युवाहरूमा ठूलो उत्साह र आशा छाएको थियो, तर आज सरकारले उनीहरूका माग उपेक्षा गर्दा युवाहरू प्रश्न उठाउन बाध्य भएका छन्,’ धमलाले भने, ‘भष्टाचारको अन्त्य, सुशासन र समृद्ध नेपाल निर्माणका लागि सबैको साझा संकल्प आवश्यक छ। प्रधानमन्त्री बालेन शाहले दम्भ छाडेर सबै पक्षसँग व्यापक छलफल र संवाद गर्नुपर्छ।’
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्रीको अमेरिका भ्रमणको सफलताको शुभकामना दिँदै धमलाले कूटनीतिक मञ्चमा नेपालको हक र हित सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिए। भोटेकोशी बाढीले पुर्याएको क्षति र वातावरण विनाशको प्रसङ्ग उठाउँदै धमलाले भने, ‘कार्बन उत्सर्जन गर्ने धनी राष्ट्रहरू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटेर प्रधानमन्त्रीले क्षतिपूर्तिको दाबी निर्धक्क भई गर्नुपर्छ। क्षतिपूर्ति माग्नु नेपालको अधिकार हो। महासभामा प्रधानमन्त्रीको सम्बोधन यस्तो होस्, जसले विश्वभर रहेका ३ करोड नेपालीको शिर गर्वले ठाडो बनाओस्।’
देशमा रोजगारी नहुँदा युवाहरू विदेशिन बाध्य भएको, किसान र उखु किसानहरू वर्षौंदेखि मर्कामा परेको उल्लेख गर्दै धमलाले प्रधानमन्त्री बालेनलाई तत्काल युवामाझ पुगेर आशा र उत्साह जगाउन आग्रह गरे।




प्रतिक्रिया