बागमती, ८ असोज । जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर प्रशासनले जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वमा सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी सहितको टोलीले कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशयको स्थलगत अवलोकनसहित सरोकारवासँग छलफल गरी सतर्कता अपनाउन अनुरोध गरेको हो ।
प्रजिअ अधिकारीले कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउत, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, सम्बन्धित प्राविधिक एवम् अधिकारीसँग स्थलगत रुपमा नै जानकारी लिएका थिए ।
निरीक्षण एवम् छलफलका क्रममा उनले कुलेखानी जलाशय क्षेत्रका साथै यसले प्रत्यक्ष प्रभाव पार्ने स्थानमा सतर्क भएर बस्नुपर्नेमा जोड दिए । भारी वर्षाका कारण जलाशयको बाँधको ढोका खोल्नुपर्ने अवस्थामा जलप्रपवाह हुने तल्लो तटीय क्षेत्रमा क्षति नपुग्ने गरी आवश्यक व्यवस्था मिलाउन उनले निर्देशन दिए ।
यसअघि २०८१ सालमा जलाशय भरिएर एक्कासि बाँधको ढोका खोलिँदा भएको क्षतिबाट पाठ सिक्दै सम्भाव्य जोखिमलाई दृष्टिगत गरी समयमा नै मानवीय एवम् भौतिक क्षति नहुनेगरी उचित व्यवस्थापन गर्नुपर्नेमा उनले आग्रह गरे ।
कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख राउतले हाल जलाशय पूर्ण रुपमा नभरिएको बताए । बुधबारसम्म जलाशयको जलसतह एक हजार ५२२ दशमलव ३८ मिटर रहेको उनले जानकारी दिए । जलसतहको अवस्थाका आधारमा सर्वसाधारणका लागि पहिलो, दोस्रो, तेस्रो र चौथो गरी चारवटा चेतावनीका स्तर निर्धारण गरिएको उनको भनाइ छ ।
जलाशयको पानीको अवस्थाअनुसार एक हजार ५२७ मिटरमा जलाशय भरिन लागेको पहिलो चेतावनी, एक हजार ५२८ मिटरमा पानी पूर्ण भएको दोस्रो चेतावनीको अवस्था छ।
यस्तै, बाँधका मुख्य ढोका खोलिएको तेस्रो तथा तथा आपत्कालीन चेतावनी गरी चारवटा चेतावनीका सङ्केत र त्यही अनुसार साइरन बज्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । बाँध खोल्नुपर्ने अवस्थामा सूचनाका लागि कुलेखानी जलाशयको बाँध रहेको क्षेत्र, तल्लो तटीय भागमा साइरन जडान गरिएको जानकारी दिँदै उनले आवश्यकताअनुसार ठाउँठाउँमा सूचना बोर्डहरू राख्ने तयारी गरिएको बताए ।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष पुडासैनीले जोखिमको न्यूनीकरणका लागि पालिकाका तर्फबाट गर्नुपर्ने साथ र सहयोगका लागि आफूहरू तयार रहेको बताए ।
नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले जलाशय आसपासका तथा यसको प्रभाव पर्न सक्ने तटीय क्षेत्रका नागरिकलाई सूचित गर्न स्थानीय रेडियो तथा सञ्चारमाध्यमको प्रभावकारी उपयोग गर्न सुझाव दिए ।




प्रतिक्रिया