कांग्रेस १५औँ महाधिवेशन: युवा पुस्ताको प्रतिनिधित्व गर्दै सीए योगेश पंगेनीको उम्मेदवारी


स्याङ्जा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ (चापाकोट) बाट सीए योगेश पंगेनीले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।


पेशाले चार्टर्ड अकाउन्टेन्ट (CA) रहेका पंगेनीले आफ्नो पेशागत अनुभव, युवा सोच र संगठनात्मक भूमिकालाई राजनीतिक यात्रासँग जोड्दै उम्मेदवारी दिएको बताएका छन्।

उनले युवा सहभागिता, आर्थिक अनुशासन, पारदर्शिता, उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय तहमा प्रभावकारी सार्वजनिक सेवा जस्ता विषयलाई प्राथमिकताका रूपमा अघि सारेका छन्।


पंगेनीका अनुसार राजनीतिमा युवाको सहभागिता केवल प्रतिनिधित्वमा सीमित नभई नीति निर्माण र निर्णय प्रक्रियामा समेत अर्थपूर्ण रूपमा स्थापित हुनुपर्ने आवश्यकता छ। CA का रूपमा प्राप्त वित्तीय तथा व्यवस्थापनसम्बन्धी ज्ञानलाई सार्वजनिक नीति र संगठनको आर्थिक अनुशासनसँग जोडेर अघि बढाउने उनको धारणा छ।


उनले स्थानीय तहदेखि नै जनतासँग प्रत्यक्ष जोडिने विषयलाई प्राथमिकता दिनुपर्ने बताउँदै स्थानीय बजेटको पारदर्शिता, सार्वजनिक खर्चको जवाफदेहिता, युवालाई उद्यमशीलतासँग जोड्ने कार्यक्रम र डिजिटल सार्वजनिक सेवा जस्ता विषयमा काम गर्नुपर्ने धारणा राखेका छन्।


उम्मेदवारीबारे पंगेनीले भने, “युवा पुस्ताको आवाजलाई निर्णय तहसम्म पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको हुँ। पेशागत दक्षता, नयाँ सोच र संगठनप्रतिको प्रतिबद्धतालाई सार्वजनिक जिम्मेवारीसँग जोड्न चाहन्छु।”


उनले स्याङ्जा क्षेत्र नं. २ का कांग्रेस प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीबारे छलफल गर्दै मत, विश्वास र सहयोगका लागि अनुरोध गरेका छन्। “युवा पुस्ताको प्रतिनिधित्वलाई थप सशक्त बनाउन आदरणीय प्रतिनिधिज्यूहरूको अमूल्य मत र विश्वासको अपेक्षा गरेको छु,” पंगेनीले बताएका छन्।