काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि यूएईको स्थायी नियोगमा भेटवार्ता भएको हो ।
भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि यूएई सरकार र जनताले व्यक्त गरेको सहानुभूति र ऐक्यबद्धताका साथै प्रदान गरेको मानवीय सहयोगप्रति नेपाल र नेपाली जनताको तर्फबाट प्रशंसा र आभार व्यक्त गरे ।
परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित समुदायका लागि थप २५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने यूएईको पछिल्लो प्रतिबद्धताप्रति समेत धन्यवाद व्यक्त गरे ।
दुवै नेताले आपसी हितका विषयमा रचनात्मक छलफल गर्दै पारस्परिक लाभका क्षेत्रमा नेपाल-यूएईबीचको निकट तथा सहकार्यात्मक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया