विपद्मा सहारा बन्दै स्थानीय स्वयम्सेवक


राँझा (बाँके), १२ असोज । भारी वर्षाका कारण राप्ती नदीमा हुने बाढीजन्य विपद् व्यवस्थापनमा स्थानीय स्वयंसेवक तटीय क्षेत्रका बासिन्दाको सहारा बनेका छन् ।

राप्ती नदीमा पानीको सतह बढ्दा सम्भावित बाढीको त्रासमा रहेका राप्ती सोनारी गाउँपालिका वासीलाई यो त्रासमा मल्हम लगाउन दक्ष स्थानीय विपद् व्यवस्थापन स्वयंसेवक अहिले प्रतिकार्यका लागि आ–आफ्नो समुदायमा खटिएका छन् ।

गाउँपालिका अध्यक्ष तप्त पौडेलका अनुसार चार दिनदेखि जारी वर्षापछि सिर्जित जोखिम व्यवस्थापनमा प्रशिक्षित स्वयंसेवकहरू उच्च सतर्कताका साथ समुदायमा खटिएका छन् । “विपद् पर्दा सुरक्षाकर्मी नपुग्दासम्म के गर्ने भनेर पहिले समुदायमा अलमल हुन्थ्यो, अब त्यो अवस्था छैन,” उनले भने, “बाढीमा फसेकाको उद्धार, आगलागी नियन्त्रण र प्राथमिक उपचारका लागि सुरक्षाकर्मी नपुग्दासम्म यो टोली पूर्ण रूपमा सक्षम बनेको छ ।”

राप्तीसोनारी गाउँपालिका भौगोलिक रूपमा बाढी, पहिरो, सडक अवरोधजस्ता बहुप्रकोपको जोखिममा छ । यसैलाई दृष्टिगत गरी गाउँपालिकाले सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्भ गण शम्शेरगञ्जसँगको साझेदारीमा १८ दिने व्यावहारिक तालिम दिएर तयार गरेका ४९ जना स्वयंसेवकलाई अहिले समुदायमा खटाएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

“भौगोलिक विकटता र वर्षाका बेला सडक अवरुद्ध हुने समस्याका कारण विपद् परेको तत्कालै बाह्य उद्धार टोली वा सुरक्षाकर्मी घटनास्थल पुग्न गाह्रो हुन्छ,” उनले भने, “यस्तै अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले पालिकाका सबै वडा समेटिने गरी स्थानीयलाई नै तालिम दिएर ‘प्रथम उद्धारकर्ता’का रूपमा तयार गरेका स्वयम्सेवक अहिले समुदायको सहारा बनेका छन् ।”

स्वयंसेवकहरूलाई दिइएको तालिम केवल सिद्धान्त र टिपोटमा मात्र सीमित थिएन। सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्व गण शम्शेरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याम रावतका अनुसार सम्भावित घटनास्थलमा नै उतारेर उद्धारका व्यावहारिक अभ्यास गराइएको छ ।

तालिमका क्रममा स्वयंसेवकहरूले बाढीमा फसेकालाई सुरक्षित निकाल्ने, आगो नियन्त्रण गर्ने, पानी नहुने ठाउँमा आगो निभाउने वैकल्पिक तरिका र भूकम्पपछि संरचना हटाएर घाइतेको उद्धार गर्ने सीप सिकेका छन् ।

अस्पताल पुग्नुअघि नै जीवन गुम्ने जोखिम घटाउन मुटु तथा श्वासप्रश्वास रोकिएको अवस्थामा दिइने जीवनरक्षक विधिको समेत अभ्यास गराइएको छ । आफू सुरक्षित रहेर घाइतेको पहिचान गर्ने, प्राथमिक उपचार दिने र सुरक्षित रूपमा स्वास्थ्य संस्था वा थप उद्धार टोलीसम्म पु¥याउने प्रक्रियामा स्वयंसेवकलाई दक्ष बनाइएको उनको भनाइ छ ।

तालिम पाएर गाउँमा खटिएका स्वयंसेवकहरू स्वयं पनि विपद्मा आफ्नो समुदायलाई बचाउन पाउँदा उत्साहित छन् । राप्तीसोनारी गाउँपालिका–२ की स्वयंसेवक रती वली तालिमपछि उद्धार कार्यसम्बन्धी धेरै सीप हासिल भएको बताउँछन् । “तालिम लिएर अहिले आफ्नै घर–समुदायमा विपद् उद्धारमा खटिन पाउँदा धेरै खुसी र गर्व लागेको छ,” उनले भने ।

राप्तीसोनारी –३ का वडाध्यक्ष मीनकुमार चौधरीका अनुसार बाह्य टोलीको भर पर्नुभन्दा स्थानीय समुदायलाई नै पूर्वतयारीमा राख्ने रणनीति एकदमै प्रभावकारी छ । “बाहिरबाट उद्धार टोली आइपुग्न समय लाग्छ,” उनले भने, “त्यो बीचको समयमा प्रारम्भिक उद्धार र प्राथमिक उपचार गर्न सक्ने जनशक्ति आफ्नै गाउँमा हुनु पालिकाको विपद् प्रतिकार्य प्रणालीका लागि कोसेढुङ्गा साबित भएको छ ।”

प्राकृतिक विपद्लाई रोक्न नसकिए पनि पूर्वतयारी र दक्ष जनशक्ति भयो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने उदाहरण राप्तीसोनारी गाउँपालिकाले देखाएको छ । सशस्त्र प्रहरीको प्राविधिक सहयोग र गाउँपालिकाको लगानीमा तयार भएका ४९ जना विपद् स्वयंसेवकहरू अहिले राप्तीसोनारीका बासिन्दाका लागि सुरक्षाको बलियो भरपर्दो सहारा बनेको वडाध्यक्ष चौधरीको भनाइ छ ।