बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान


लमजुङ, १२ असोज । पछिल्लो चार दिनको निरन्तरको वर्षापछिको बाढीपहिरोबाट बेँसीसहर–चामे सडकको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाइ भत्किएको सडकको मर्मत सुरु गरिए पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार उक्त सडक मुख्य रुपमा तीन स्थानमा बढी क्षति पुगेको छ । त्यसबाहेक पनि विभिन्न स्थानमा साना–ठूला गरी दर्जनौँ पहिराले सडकमा क्षति पुगेको छ । कतिपय ठाउँमा सडक भासिएको छ भने केही स्थानमा नदीले सडक कटान गरेको छ ।

“अहिले धेरै ठाउँमा सडकमा क्षति पुगेको छ”, उनले भने, “पूर्ण रुपमा सञ्चालनमा ल्याउन कम्तीमा हप्ता दिन लाग्न सक्छ ।” उनका अनुसार मस्र्याङ्दी गाउँपालिका–४ रामबजार क्षेत्रमा करिब २५ देखि ३० मिटर सडक भासिएको छ । उक्त स्थानमा सडक खुलाउने तयारी भइरहेको छ । रामबजार आसपासका साना–साना अवरोध हटाएर सडक खुलाउने काम भइरहेको उनले बताए । मनाङको नासों गाउँपालिका–३ खोत्रो क्षेत्रमा ठूला ढुङ्गासहित पहिरो गएको छ ।

ठूला ढुङ्गा हटाउन बम ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेको उनले बताए । कोत्रो क्षेत्रमा पनि मस्र्याङ्दी नदीले सडक कटान गरेको छ । दुई ठाउँमा रहेका काठे पुल बगाएको छ । सडक खुलाउन आयोजनाले दुई वटा डोजर प्रयोग गरिरहेको छ भने थप एउटा डोजर नुवाकोटबाट ल्याउने तयारी गरिएको छ । तीन वटै डोजर परिचालन गरेर सडक खुलाउने तयारी भइरहेको उनले बताए । सडक खुलाउन जलविद्युत् आयोजनासँग समेत सहयोग माग गरिएको छ ।

केही स्थानमा सडकको क्षति व्यवस्थापनका लागि प्राविधिक अध्ययनसमेत आवश्यक पर्ने उनले बताए । विसं २०७८ मा बाढीपहिरोका कारण बेँसीसहर–चामे सडक लामो समय अवरुद्ध भएको स्मरण गर्दै अहिले धेरै ठाउँमा एकैपटक क्षति भएकाले सडक पूर्ण रुपमा सञ्चालनमा ल्याउन समय लाग्ने उनले बताए ।

करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य स्थलमार्ग हो । सडकमा क्षति पुगेपछि मनाङवासीको आवतजावतसँगै खाद्यान्न, औषधि, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ । मनाङमा अहिले खानेपानीको समस्या देखिन थालेको र अधिकांश खाद्यान्न तथा आवश्यक सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले सडक लामो समय अवरुद्ध भए समस्या थपिन सक्ने उनले बताए ।