बागमती प्रदेशको समृद्धिका लागि सरकार क्रियाशील: मुख्यमन्त्री थापा


भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा अघि बढाउन आफू दृढ सङ्कल्पित रहेको बताएका छन्। भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको चौतर्फी विकासका लागि प्रदेश सरकार अहोरात्र क्रियाशील रहेको दाबी गरे।

कार्यक्रममा मुख्यमन्त्री थापाले भक्तपुरको विशिष्ट पहिचान र सम्भावनालाई उजागर गर्दै यसलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको उत्कृष्ट एकीकृत केन्द्रका रूपमा रूपान्तरण गर्ने आफ्नो गुरुयोजना सार्वजनिक गरे।

शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रममा बोल्दै प्रादेशिक योग समितिका सदस्य नवराज काफ्ले र समाजसेवी बालमुकुन्द सुवाललगायतका वक्ताहरूले बागमती प्रदेशको विकासका प्रचुर सम्भावनाहरूमाथि प्रकाश पारेका थिए। उनीहरूले पर्यटन र स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमार्फत प्रदेशलाई समृद्ध बनाउन सकिने सुझाव व्यक्त गरे।