सभामुख अर्याल स्वदेश फर्किए


काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। तान्जानियामा आयोजित महासभामा सहभागिता जनाएर सभामुख अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो।

भ्रमणका क्रममा नेपालले प्रस्तुत गरेको जलवायुसम्बन्धी विपद् सम्बोधन तथा हिमाललगायत संवेदनशील क्षेत्रमा उत्थानशीलता सुदृढ गर्ने विषय समेटिएको आपत्कालीन प्रस्ताव दुईतिहाइ मतले पारित भएको छ। उक्त प्रस्तावमाथि महासभामा छलफलसमेत भएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

महासचिव पाण्डेयका अनुसार नेपालको संसदीय इतिहासमा पहिलोपटक नेपाली पक्षबाट प्रस्तुत आपत्कालीन प्रस्ताव दुईतिहाइ मतले पारित भई छलफलमा पुगेको हो। उनले यसलाई नेपालको संसदीय कूटनीतिका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे।

यसैगरी, भ्रमणका क्रममा युवा सांसदहरूको मञ्चमा युवा नेतृत्व, संसदीय सहभागिता र दिगो विकासका विषयमा विभिन्न मुलुकका युवा सांसदहरूसँग विचार आदानप्रदान गरिएको थियो।

सभामुख अर्यालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अस्ट्रेलिया, बेलायत, चीन, भुटान र संयुक्त अरब इमिरेट्सलगायत देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता तथा साइडलाइन छलफलसमेत गरेको महासचिव पाण्डेयले बताए।