काठमाडाैँ। इथियोपियाको मध्यवर्ती ओरोमिया राज्यमा शनिबार अर्थोडक्स इसाई चर्च र गाउँहरूमा भएका आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय बासिन्दा र एक पादरीले सोमबार एएफपीलाई बताएका छन्।
इथियोपियाको सबैभन्दा ठुलो राज्य ओरोमिया लामो समयदेखि विद्रोही गतिविधि र जातीय तनावबाट प्रभावित छ। यहाँ सशस्त्र समूहहरूले सामाजिक विभाजन बढाउन धार्मिक पहिचानको प्रयोग गर्ने गरेका छन्
नाम सार्वजनिक नगर्ने सर्तमा एक स्थानीय बासिन्दाले टेलिफोनमार्फत एएफपीलाई बताएअनुसार शिरका जिल्लाको चोले वडामा उनकी बहिनी र काकाको हत्या भएको छ भने उहाँका अन्य आफन्तलाई बन्धक बनाइएको छ।
उनका अनुसार उक्त क्षेत्रमा ४४ जनाको मृत्यु भएको छ । अर्का स्थानीय बासिन्दाले भने मृतकको सङ्ख्या ५१ पुगेको बताए।
इथियोपियामा सञ्चारमाध्यमको पहुँचमा कडा प्रतिबन्ध रहेकाले यस्ता घटनाको स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन छ। इथियोपिया मानव अधिकार आयोगले घटनाबारे आफूले निगरानी गरिरहेको जनाएको छ ।
पहिलो स्थानीय बासिन्दाले उक्त क्षेत्रमा धार्मिक तनाव उच्च रहेको बताउँदै समयमै सम्बोधन नगरिए स्थिति थप गम्भीर बन्न सक्ने चेतावनी दिए। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणमा दुईवटा चर्चलाई निशाना बनाइएको थियो । आक्रमणमा परेका मानिसका धेरै घरसमेत ध्वस्त पारिएको एक प्रत्यक्षदर्शीले बताए।
अफ्रिकाको सिङ आकारको क्षेत्रमा अवस्थित इथियोपिया लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्वबाट प्रभावित छ। गत महिना उत्तरी टिग्रे राज्यमा पनि भीषण लडाइँ भएको थियो।
करिब चार करोड जनसङ्ख्या रहेको ओरोमिया राज्यमा मुस्लिम, प्रोटेस्टेन्ट र अर्थोडक्स इसाई समुदायका मानिसहरू बसोबास गर्छन्। यहाँको द्वन्द्वको मुख्य कारण राजनीतिक तथा जातीय प्रतिनिधित्वसम्बन्धी विवाद भए पनि सशस्त्र समूहहरूले मानिसलाई एकजुट गर्न धार्मिक पहिचानको प्रयोग गर्ने गरेका छन्।
आक्रमणमा परेका चर्चमध्ये एकका डिकन (धार्मिक सेवक) ले मृतकको सङ्ख्या ४६ रहेको बताए। “यी दुःखद हत्याकाण्डबाट हामी स्तब्ध भएका छौँ । सुरक्षा व्यवस्था पुनः कायम गर्न हामी सरकारसँग तत्काल हस्तक्षेपको माग गर्दछौँ,” उनले भने।




प्रतिक्रिया