विनिता खड्काको सपथ र प्रमाणपत्र ‘होल्ड’: कांग्रेसभित्र दोहोरो मापदण्ड र घोर अन्यायको प्रश्न


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला खुलातर्फ छैटौँ सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको सपथ र प्रमाणपत्र रोकिएको विषयले पार्टीभित्र विवाद सिर्जना गरेको छ। अदालतबाट खड्काको संलग्नता पुष्टि नभएको दाबी भइरहेका बेला उनको निर्वाचन परिणामलाई ‘होल्ड’ मा राखिएको निर्णयमाथि प्रश्न उठाइएको हो।

खड्का वैदेशिक रोजगारीका नाममा ठगी भएको आरोपसँग जोडिएको घटनाका क्रममा मतदानकै दिन सभागृहबाट प्रहरी नियन्त्रणमा परेकी थिइन्। काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राख्न म्याद थप गर्ने अनुमति नदिई बाहिरै राख्न आदेश दिएको थियो।

खड्काको संलग्नता पुष्टि गर्ने पर्याप्त प्रमाण नभएको अवस्थामा उनको सपथ र प्रमाणपत्र रोकिराख्नु अन्यायपूर्ण भएको तर्क उनीप्रति सहानुभूति राख्ने पक्षले गरेका छन्। अदालतको आदेशपछि पनि निर्वाचन परिणामलाई अन्तिम रूप नदिइनु पार्टीको आन्तरिक लोकतन्त्र र निर्णय प्रक्रियामाथि प्रश्न उठाउने विषय बनेको उनीहरूको भनाइ छ।

महाधिवेशन प्रतिनिधिको मतको सम्मान गर्न माग

महाधिवेशन प्रतिनिधिहरूको मतबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी खड्काको प्रमाणपत्र र सपथ रोकिँदा प्रतिनिधिहरूको मतादेशको सम्मान नभएको भन्दै आलोचना गरिएको छ। दुई हजार आठ सयभन्दा बढी प्रतिनिधिको मतबाट प्राप्त परिणामलाई स्पष्ट आधारबिना रोकिराख्नु उचित नहुने उनीहरूको तर्क छ।

अदालतबाट आएको आदेश र पार्टीको निर्वाचन प्रक्रियाबीचको सम्बन्ध स्पष्ट पार्दै खड्काको अवस्थाबारे यथाशीघ्र निर्णय लिनुपर्ने मागसमेत उठाइएको छ। पार्टी नेतृत्व र निर्वाचन समितिले उनको परिणाम ‘होल्ड’ मा राख्नुको कारण सार्वजनिक गर्नुपर्ने आवाज पनि उठेको छ।

खड्कालाई सपथ गराई प्रमाणपत्र उपलब्ध गराउनुपर्ने माग गर्ने पक्षले यस विषयमा पार्टीले स्पष्ट र निष्पक्ष निर्णय लिनुपर्ने बताएका छन्।

कांग्रेसले भने अदालतमा मुद्दा विचाराधीन रहेका चार नवनिर्वाचित केन्द्रीय सदस्यलाई तत्काल शपथ नगराउने जनाएकाे छ।

१५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्कासँगै सन्तोष चालिसे, मोहन बस्नेत र उमेशचन्द्र यादवको शपथ प्रक्रिया अघि नबढाई होल्डमा राख्ने भएकाे हो।