चितवन, १२ कात्तिक । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा संयुक्त रुपमा पर्यटन क्षेत्रको विकास गर्न परिषद् स्थापना गर्न लागिएको छ ।
यही कात्तिक ८ गतेदेखि १० गतेसम्म गैरआवासीय नेपाली सङ्घ अन्तररष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा भएको ‘नेपाल–भारत क्रस–बोर्डर टुरिजम कनेक्ट २०२६’ कार्यक्रमले नेपालमा भारतीय पर्यटकको आगमन बढाउने, भारतमा नेपाली पर्यटनको प्रवर्द्धन गर्ने तथा दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन व्यावसायिक साझेदारी विकास गर्ने निर्णय गरेको छ ।
प्रस्तावित परिषद्मा दुवै देशका पर्यटन विज्ञ, ट्राभल तथा टुर अपरेटर, होटल तथा रिसोर्ट सञ्चालक, आतिथ्य क्षेत्रका विशेषज्ञ र अन्य सरोकारवालालाई समेटिनेछ । संयुक्त गन्तव्य प्रचारप्रसार, बिटुबी भेटघाट, संयुक्त पर्यटन प्याकेज निर्माण, अनुभव आदानप्रदान तथा नियमित नेटवर्किङ कार्यक्रम सञ्चालन परिषद्का मुख्य उद्देश्य रहनेछ ।
लुम्बिनी प्रदेश पर्यटन प्रवर्द्धन परिषद्का कार्यकारी निर्देशक शारदा बस्याल बेलबासे, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका अध्यक्ष राजेश सिंह, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका प्रतिनिधि डा केपी सिंह र गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद् वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद शेरचन सहभागी थिए ।
भ्रमणका क्रममा रामग्राम, अमलटारी, मौलाकालिका, सौराहा, मेघौली, चितवन तथा नवलपुरका विभिन्न पर्यटन गन्तव्य, होटल र रिसोर्टको अवलोकन गरिएको थियो । सहभागीले रामग्रामको धार्मिक तथा ऐतिहासिक महत्व, अमलटारीको थारू संस्कृति, मौलाकालिकाको धार्मिक पर्यटन, सौराहाको जङ्गल सफारी तथा मेघौली र नवलपुरका प्राकृतिक सौन्दर्य र आतिथ्य सेवाबारे जानकारी लिएको थियो ।
कार्यक्रममा नेपाली होटल तथा रिसोर्ट सञ्चालक र भारतीय ट्राभल तथा टुर अपरेटरबीच बिटुबी भेटघाट, पर्यटन नेटवर्किङ र व्यावसायिक अन्तरक्रिया गरियो ।
नेपालका पर्यटन गन्तव्यलाई भारतीय बजारसँग जोड्ने, संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने, अनुभव आदानप्रदान गर्ने तथा नियमित व्यावसायिक सम्पर्क विस्तार गर्ने विषयमा छलफल भएको गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद्का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोमनाथ सापकोटाले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यक्रमले नेपाललाई भारतीय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न र पर्यटन व्यवसायका नयाँ अवसर सिर्जना गर्न सहयोग पु¥याउनेछ । नेपाल–भारत क्रस–बोर्डर टुरिजम कनेक्ट २०२६ निजी क्षेत्र तथा पर्यटन व्यवसायीको सहयोगमा सञ्चालन गरिएको हो ।




प्रतिक्रिया