बनेपा (काभ्रे), १२ कात्तिक । बिहानको पाँच बजेसम्म पनौतीको जनजीवन शान्त देखिन्छ । अधिकांश मानिस निद्रामै रहेका बेला स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन् ।
यही शान्त वातावरणबीच पनौती नगरपालिका–९, बिजुली हाइड्रोपावरनजिकै रोशी कृषि फार्ममा २९ वर्षीय देवराज स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन्
बिहान ३ः३० बजेसम्म च्याउ टिपिसकेपछि उनलाई उत्पादित च्याउ तरकारी बजारसम्म पु¥याउने चटारो हुन्छ । परिवारसँगै बसेर आफ्नै देशमा केही गर्ने अठोटका साथ उनले अँगालेको व्यावसायिक च्याउखेतीको दैनिकी हो, यो ।
वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्किएका स्याङ्तान अहिले च्याउखेतीमार्फत आफ्नै गाउँठाउँमा भविष्य देखिरहेका छन् । विदेशमा रहँदा परिवारबाट टाढा बिताएका दिन र भोग्नु परेको अभावले उनलाई आफ्नै परिवारसँग बसेर च्याउखेतीमा लाग्ने चाहना जाग्यो ।
लामो समय परदेशमा श्रम गर्दा परिवारसँगै बसेर सुखदुःख बाँड्ने अवसर कम भएपछि उनले स्वदेशमै केही गर्ने निर्णय गरे । त्यसपछि विदेशमा अरूका लागि श्रम गर्नुभन्दा स्वदेशमै पसिना बगाएर आत्मनिर्भर बन्ने बाटो रोजे ।
“विदेशमा परिवारको अभावमा बिताएका दिन बिर्सन सकिनँ । त्यसैले आफ्नै परिवारको काखमा रहेर सुखदुःख भोग्दै, च्याउ खेतीमा लागेको हुँ”, स्याङ्तानले भने ।
परिवारले गर्दै आएको पेसालाई निरन्तरता दिने सोचका साथ च्याउखेतीमा लागेका उनका लागि यो व्यवसाय नयाँ भने होइन ।
उनका बाआमाले विसं २०६५ देखि नै च्याउखेती गर्दै आएका थिए । परिवारले गर्दै आएको उक्त पेसा उनका लागि पुरानो थियो ।
विदेशबाट फर्किएपछि उनले पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै विस्तार गर्ने योजना बनाए । परिवारबाट प्राप्त अनुभव र सीपलाई व्यावसायिक रूपमा अघि बढाउने उनको प्रयास अहिले च्याउखेतीमा केन्द्रित छ ।
करिब तीन रोपनी जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेका स्याङ्तानले सुरुमा रु २० हजार लगानीमा पाँचवटा टनेल बनाएका थिए भने अहिले उनीसँग २७ टनेल पुगेका छन् ।
उक्त टनेल निर्माणमा उनले २१ लाख ६० हजार लगानी भएको जानकारी दिए ।
व्यवसाय विस्तार हुँदै जाँदा आफ्नै पुँजीले नपुगेपछि सहकारीबाट ऋण लिएका छन् । सानो लगानीबाट सुरु भएको व्यवसायलाई अहिलेको अवस्थामा पु¥याउन निरन्तर मेहनतसँगै थप पुँजी आवश्यक परेको उनको अनुभव छ ।
कृषि व्यवसायमा उत्पादन बढाउन समय, श्रम र व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुने उनी बताउँछन् ।
व्यवसायमा उनलाई परिवारको साथ र सहयोग छ । बाआमा, भाइ र बुहारी मिलेर टनेलको काम तथा हेरचाह गर्छन् । च्याउ टिप्ने, टनेलको हेरचाह गर्ने र उत्पादन व्यवस्थापन गर्ने काममा परिवारका सदस्यको सहकार्य रहँदै आएको छ ।
स्याङ्तान खेतीसम्बन्धी ज्ञान थप विस्तार गर्न सक्रिय छन् । उनले अहिले अनलाइनमार्फत कक्षा लिइ रहेका छन्छ । परम्परागत अनुभवसँगै नयाँ प्रविधि र ज्ञान सिक्न सके उत्पादनलाई व्यवस्थित बनाउन सकिने उनको विश्वास छ ।
च्याउखेतीमा उत्पादन गर्नु मात्र पर्याप्त हुँदैन । उत्पादित च्याउको गुणस्तर कायम राख्न नियमित हेरचाह र बजार व्यवस्थापनमा ध्यान दिनुपर्छ ।
स्याङ्तानले च्याउलाई रोग तथा कीराबाट जोगाउन र टनेलभित्र आवश्यक वातावरण कायम राख्न विशेष ध्यान दिने गरेका छन् ।
च्याउको बीउ राखेको करिब २१ दिनदेखि चार साताभित्र च्याउ टिप्न सकिन्छ । एक टनेलमा करिब ४४० प्याकेट राख्ने गरिएको छ । त्यसबाट एकलटमा करिब ८०० देखि ९०० किलोसम्म च्याउ उत्पादन हुने गरेको छ ।
एक वर्षमा एउटा टनेलमा दुईलटमा च्याउ उत्पादन गर्न सकिन्छ । उत्पादनको मात्रा बढाउन र गुणस्तर कायम राख्न टनेलको व्यवस्थापनदेखि च्याउ टिप्ने समयसम्म मेहनत गर्नुपर्छ ।
च्याउखेतीका लागि आवश्यक पराल डिलरमार्फत ल्याउने गरिएको छ । बीउ काठमाडौँ र भक्तपुरबाट खरिद गरिन्छ ।
खेतीका लागि आवश्यक सामग्रीको व्यवस्थापनदेखि उत्पादित च्याउ बिक्री गर्ने प्रक्रियासम्म जुट्नुपर्छ ।
करिव राति १ बजेदेखि च्याउ टिप्न सुरु गर्नुपर्छ । बिहान ३ः३० बजेदेखि ४ बजेसम्म टिपि सक्नुपर्छ । त्यसपछि तरकारी बजार खुल्ने बित्तिकै उत्पादित च्याउ बजार पु¥याउनु पर्र्छ ।
च्याउखेतीमा उत्पादनसँगै समय व्यवस्थापन र बजारसम्मको पहुँच उत्तिकै महत्त्वपूर्ण हुने गरेको छ ।
स्याङ्तानले उत्पादन गर्दै आएको कन्या (अयस्टर) च्याउ अहिले थोकमा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ । बजारमा च्याउ बिक्री भए पनि उत्पादन लागत र आफ्नो श्रमअनुसार उचित मूल्य पाउन नसक्दा व्यवसायबाट अपेक्षित प्रतिफल लिन चुनौती भइरहेको छ ।
उनका अनुसार च्याउ बिक्रीबाट एक वर्षमा रु १३ लाखसम्म कुल आम्दानी हुने गरेको छ ।
उक्त रकम उत्पादन लागत, टनेल व्यवस्थापन, श्रम तथा अन्य खर्च कटाउनु अघिको आम्दानी हो । एउटा टनेलबाट एक वर्षमा उत्पादन हुने दुई लटको कुल आम्दानी करिब रु ५० हजार हुने उनले बताए ।
गत वर्ष स्थानीय सरकारबाट अनुदान स्वरूप रु दुई लाख प्राप्त भएपछि व्यवसाय विस्तारमा सहयोग पुगेको उनले बताए ।
च्याउखेतीमा आवश्यक प्राविधिक ज्ञान, सीप, उत्पादन व्यवस्थापन र बजारसम्बन्धी सहयोग सँगै सरकारी अनुदान तथा सहुलियत पूर्ण ऋणको व्यवस्था हुन सके आफूजस्ता किसानलाई व्यावसायिक रूपमा अघि बढ्न थप सहज हुने उनी बताउँछन् ।
सरकारी निकायबाट प्रविधि र आवश्यक सहयोग प्राप्त भए उत्पादन बढाउनुका साथै व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने उनको विश्वास छ ।
परदेशको अनुभवलाई स्वदेशको श्रमसँग जोडेर कृषि व्यवसायमा भविष्य खोजि रहेका स्याङ्तानको यात्राले आफ्नै गाउँठाउँमा उद्यम गर्ने सम्भावना देखाएको छ ।




प्रतिक्रिया