काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा पलायनले मुलुकको विकास र समृद्धिमा नकारात्मक असर पार्ने बताएका छन्। उनले विदेशमा रहेका नेपालीको सीप, ज्ञान, जाँगर र अनुभवलाई स्वदेशको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
मुख्यमन्त्री थापा मगरले नेपाली नागरिक विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको प्रतिष्ठा राष्ट्रको प्रतिष्ठासँग जोडिने उल्लेख गर्दै विदेशमा बस्दैमा देशसँगको सम्बन्ध नटुट्ने बताएका हुन्।
“नेपाली विश्वमा जहाँ रहे पनि नेपालीमूलको भन्ने नै हुन्छ, त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ,” उनले भनेका छन्।
रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपालीलाई देशबाट टाढिएको रूपमा मात्र हेर्न नहुने उनको भनाइ छ। विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्न सके मुलुकले ठूलो लाभ लिन सक्ने उनले बताएका छन्।
“मुलुक स्थायी वा अस्थायी रूपले छोड्दैमा देशसँगको सम्बन्ध तोडिन सक्दैन र तोडिएको पनि हुँदैन,” मुख्यमन्त्री थापा मगरले भनेका छन्।
उनले विदेशमा रहेका नेपालीको सीप, जाँगर र पसिनाको सदुपयोग गर्न आवश्यक नीति तथा वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिएका छन्। विदेशमा सिकेको ज्ञान र अनुभवलाई स्वदेशमा प्रयोग गर्ने अवसर सिर्जना गर्न सके देशको उत्पादन र आर्थिक समृद्धिमा योगदान पुग्ने उनको धारणा छ।
युवा जनशक्ति विदेशिने क्रम बढ्दा मुलुकको उत्पादन, विकास र समृद्धिमा असर पर्न सक्ने उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले युवालाई स्वदेशमै रोजगारी, अवसर र सम्भावना उपलब्ध गराउनुपर्ने सन्देश दिएका छन्।
“अब विदेशमा रहेका नेपालीहरूको सीप, जाँगर र पसिनाको प्रयोग हाम्रो देशले गर्न सक्नुपर्छ, युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ मात्र लैजान्छ,” उनले भनेका छन्।




प्रतिक्रिया