भ्रष्टाचारीलाई कारबाही गर्न सक्ने स्थानीय सरकार चाहियो : ऋषि धमला


काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टाचारीलाई कारबाही गर्न सक्ने स्थानीय सरकार आवश्यक रहेको बताएका छन्। 

उनले आगामी स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई अघि सार्नुपर्नेमा जोड दिएका छन्।

बिहीबार काठमाडौंको माइतीघरमा गैरदलीय स्थानीय तह निर्माणका लागि आयोजित ऐक्यबद्धता सभालाई सम्बोधन गर्दै धमलाले देशमा गैरदलीय उम्मेदवारको आवश्यकता बढ्दै गएको बताए।

उनले प्रधानमन्त्री बालेन शाहले २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेर गैरदलीय राजनीतिक अभ्यासको सुरुवात गरेको उल्लेख गरे।

 अहिले बालेन शक्तिशाली प्रधानमन्त्री रहेको दाबी गर्दै धमलाले आगामी स्थानीय तह निर्वाचनमा पनि गैरदलीय उम्मेदवारलाई अवसर दिनुपर्ने बताए।

‘भ्रष्टाचारीलाई कारबाही गर्न सक्ने सरकार स्थानीय तहमा चाहियो, भ्रष्टाचार गर्ने होइन,’ धमलाले भने।

उनले स्थानीय तहको सरकार सञ्चालन भएको १० वर्ष पुग्न लाग्दासमेत अपेक्षाअनुसार काम हुन नसकेको टिप्पणी गरे। 

धमलाले आगामी स्थानीय तह निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने उद्देश्यसहित आफूहरू अघि बढिसकेको बताए। देशभरका ७५३ वटै स्थानीय तहमा जनताको सरकार निर्माण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिने उनले जानकारी दिए।