काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आकस्मिक रूपमा बोलाएको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) बैठकमा चार घण्टा छलफल भएको छ । बैठकमा इनम सापकोटामाथि भइरहेको अनुसन्धानको सूचना बाहिरिएको विषय र आईजीपीविरुद्ध सार्वजनिक भइरहेका प्रचारबारे मुख्य रूपमा छलफल उच्च प्रहरी अधिकृतले बताए ।
बैठकमा सहभागी एक उच्च प्रहरी अधिकृतका अनुसार अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना चुहावट भएको विषयलाई गम्भीर रूपमा लिइएको छ । अनुसन्धानका क्रममा रहेका विवरण बाहिर पुर्याउने व्यक्तिको पहिचान गरी कारबाही गर्ने विषयमा समेत छलफल भएको छ ।
पछिल्लो समय सरकारले आईजीपी कार्कीलाई पदबाट हटाउन लागेको भन्ने विवरण सार्वजनिक भइरहेका बेला प्रहरीका उच्च अधिकारीहरूले त्यसलाई भ्रामक प्रचारको संज्ञा दिएका छन् । संगठन प्रमुखविरुद्ध भइरहेको प्रचारको सामूहिक रूपमा प्रतिवाद गर्ने निर्णयसमेत बैठकले गरेको स्रोतको भनाइ छ ।
बैठकमा सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी), आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र आईजीपी कार्की सहभागी थिए । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध रहेको भनिएका इनम सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनीमाथि भइरहेको अनुसन्धानका विवरण बाहिरिएको विषय बैठकमा उठाइएको थियो ।
आफूविरुद्ध भइरहेका प्रचारबारे धारणा राख्दै आईजीपी कार्कीले सार्वजनिक भएका विवरणमा सत्यता नभएको दाबी गरेका छन् । बैठकमा उनले अहिले बाहिर आएका विषय सत्य नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेको सहभागी एक प्रहरी अधिकारीले बताए ।




प्रतिक्रिया