लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ: अधिवक्ता अर्याल


काठमाडौं । अधिवक्ता इन्द्रप्रसाद अर्यालले लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएका छन् ।

आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्यालले सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले गरेको निर्णयप्रति खेद व्यक्त गरे ।

 न्यायाधीशहरूमाथि आरोप लागे पनि त्यसको जवाफ दिनुको सट्टा सञ्चारमाध्यमलाई दोष देखाउने प्रवृत्ति उचित नभएको उनको टिप्पणी थियो ।

‘आरोप लाग्छ तपाईंहरूलाई, तर आफूलाई लागेको आरोप पुष्टि होस् वा नहोस्, त्यतिन्जेल निष्पक्ष ढंगले काम गर्न सक्दिनँ भनेर किन राजीनामा दिन सक्नुहुन्न ?’ उनले प्रश्न गरे ।

अर्यालले न्यायाधीशहरूले सञ्चारमाध्यम र नागरिक समाजमाथि औँला ठड्याउनुभन्दा आफैँबाट सुधारको सुरुवात गर्नुपर्ने बताए । न्यायपालिकाको विश्वसनीयता कायम राख्न आरोप लागेका व्यक्तिहरूले नै नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।

इनम सापकोटा प्रकरणमा जोडिएका न्यायाधीशहरूले उक्त प्रकरणको निर्क्योल नहुँदासम्म न्यायिक कामकारबाहीमा संलग्न नहुनसमेत अर्यालले सुझाव दिए ।