बघौडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण


चितवन, १७ कात्तिक । बागमती प्रदेश सरकारले जिल्लाको माडी नगरपालिकास्थित बघौडा अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले आधुनिक स्वास्थ्य उपकरण तथा महत्वपूर्ण औषधि उपलब्ध गराएको छ ।

बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा)ले सोमबार एक कार्यक्रमबीच अस्पतालका लागि भिडियो एक्सरे मेसिन, अटोक्लेभ, एक्सरेलगायत आधुनिक स्वास्थ्य उपकरण तथा आवश्यक औषधि हस्तान्तरण गरेको हो ।

गत कात्तिक १३ गते बघौडा अस्पतालको निरीक्षणका क्रममा अस्पतालले भोगिरहेका स्वास्थ्य उपकरण तथा औषधिको अभावबारे जानकारी लिएपछि मन्त्री तामाङले तत्काल आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

सो अवसरमा मन्त्री तामाङले अस्पतालमा भिडियो एक्सरे, एक्सरे तथा अटोक्लेभजस्ता उपकरण उपलब्ध भएपछि बिरामीको परीक्षण, रोग पहिचान तथा उपचारमा थप सहजता हुने बताए । विशेषगरी सामान्य स्वास्थ्य परीक्षण तथा उपचारका लागि भरतपुर धाउनुपर्ने स्थानीयवासीको बाध्यता कम गर्न यी उपकरण उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक वसन्त अधिकारी, स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्रकुमार झालगायतको उपस्थिति रहेको थियो । माडी चितवन राष्ट्रिय निकुञ्ज हुँदै जानुपर्ने नगरपालिका हो ।