आईजीपी कार्कीले शक्ति प्रदर्शन गरेपछि सरकारले हटाएको हो :  रास्वपा सांसद चौलागाईं


काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले शक्ति प्रदर्शन गरेपछि  पदबाट हटाइएको बताएका छन्।

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद चौलागाईंले कार्कीले शक्ति प्रदर्शन गर्न खोजेको र त्यसबाट राज्य सञ्चालन हुन नसक्ने भएकाले उनलाई बहिर्गमन गराइएको बताए।

‘उहाँले शक्ति प्रदर्शन गर्न लाग्नुभयो। त्यो शक्ति प्रदर्शनले राज्य चल्दैन थियो। त्यसकारणले उहाँलाई बहिर्गमन गराएको हो,’ चौलागाईंले भने।

प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा नयाँ पद सिर्जना गरिएको विषयमा पनि उनले सरकारको अधिकार रूपमा व्याख्या गरे ।

‘हामीले कानुनी प्रक्रिया पनि बुझ्नुपर्छ। उहाँको कार्यावधि छँदासम्म पदबाट हटाउन मिल्दैन। हटाउनका निम्ति हामीले केही कम्पोनेन्ट पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने।

सरकार मातहतका कर्मचारीलाई आवश्यकताअनुसार विभिन्न जिम्मेवारीमा खटाउने अधिकार सरकारसँग रहेको उल्लेख गर्दै चौलागाईंले प्रधानमन्त्रीको सल्लाहकारका रूपमा नियुक्ति गर्नु पनि सोही अधिकारअन्तर्गत भएको बताए।

‘तसर्थ सरकार मातहतका कुनै पनि कर्मचारीलाई कहीँ पनि खटाउने सरकारको अधिकार हो। त्यसकारण प्रधानमन्त्रीको सल्लाहकारको रूपमा ल्याएको हो,’ उनले थपे।