भोटेकोशी बाढी: २ हजार ४६५ नेपाली तथा विदेशी बेपत्ता रहेको सूची सार्वजनिक,सच्याउन ७ दिनको समय


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीको विपद्मा परी बेपत्ता भएका २ हजार २९४ नेपाली र १७१ विदेशी नागरिकको नामावली सार्वजनिक गरेको छ ।

शनिबार सूचना जारी गर्दै प्राधिकरणले सार्वजनिक सूचीमा कुनै त्रुटि भए सच्याउन, नाम थपघट गर्न वा दाबी विरोध पेस गर्न सात दिनको समय दिएको छ ।

प्राधिकरणका अनुसार सात देशका १७१ विदेशी नागरिक बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ । जसमा मलेसिया र युक्रेनका ५४/५४ जना, अस्ट्रेलियाका ३३, रुसका ११, दक्षिण कोरियाका ९, जर्मनीका ८ र इटालीका २ जना रहेका छन् ।

त्यस्तै, ३२ जिल्लाबाट संकलित विवरणअनुसार नेपाली नागरिकतर्फ सबैभन्दा बढी रसुवा र सिन्धुपाल्चोकका नागरिक बेपत्ता रहेको उल्लेख छ । जिल्लागत विवरणमा रसुकाका १ हजार ५३८ र सिन्धुपाल्चोकका २१९ जना रहेका छन् ।

अन्य जिल्लामध्ये बर्दियाका ७४, जुम्लाका ६३, कैलाली र सप्तरीका ५१/५१, दाङका ३८, रामेछाप र सिन्धुलीका ३७/३७, काभ्रेपलाञ्चोकका ३५, उदयपुर र नवलपरासी पूर्वका १७/१७, बागलुङका १६, डडेल्धुराका १५ तथा ललितपुरका १४ जना बेपत्ता रहेको सूचीमा उल्लेख छ ।

यसैगरी नवलपरासी पश्चिमका ११, महोत्तरीका ९, स्याङ्जाका ८, कपिलवस्तु, कालिकोट र खोटाङका ६/६, भोजपुर र रुकुम पूर्वका ४/४, बाजुरा, संखुवासभा र सर्लाहीका ३/३ तथा अछाम, जाजरकोट, ताप्लेजुङ र धनकुटाका २/२ जना बेपत्ता रहेको विवरण छ । तेह्रथुमका एक जना पनि सूचीमा समावेश छन् ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीमा समावेश कुनै व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति स्वयं वा निजको एकाघरका परिवारले सात दिनभित्र दाबी पेस गर्न सक्ने जनाएको छ ।

त्यस्तो दाबी सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पेस गर्न सकिने सूचनामा उल्लेख छ ।