‘विशेषदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया विधि र विधानअनुसार सम्पन्न भयाे ’ : विश्वप्रकाश शर्मा


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया विधि, विधान, पद्धति र संविधानअनुसार सम्पन्न भएको दाबी गरेका छन् ।

कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले महाधिवेशन प्रतिनिधिहरूको सक्रिय सहभागिता र योगदानबाट पार्टीका महाधिवेशन सम्पन्न भएको बताएका हुन् ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक लेनदेन भएको भन्ने आरोपबारे टिप्पणी गर्दै उनले कुनै व्यक्तिले लगाएको आरोप वा सामाजिक सञ्जालमा फैलिएको हल्लाकै आधारमा निष्कर्ष निकाल्न नहुने बताए ।

कांग्रेस सभापति गगन थापामाथि पार्टीको आधिकारिकता विवादमा बिचौलियासँग १८ करोड रुपैयाँको चलखेल गरेको आरोप सार्वजनिक भएको प्रसंगमा शर्माले प्रमाणबिना आरोपलाई विश्वास गर्न नहुने धारणा राखे ।

‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ? सामाजिक सञ्जालका मान्छे त्यसैको होहल्लामा कुद्नुहुन्छ कि हुँदैन ?’ उनले प्रश्न गरे ।

शर्माले अब सभापति गगन थापाको नेतृत्वमा कांग्रेस योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए । देशमा परिवर्तनको चाहना र नयाँ सपना बोकेका थापाको नेतृत्वमा पार्टीलाई नयाँ दिशातर्फ लैजानुपर्ने उनको भनाइ थियो ।