काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य लेखनाथ पोखरेलले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार सामाजिक सञ्जालमा मात्र सीमित रहेको तर काम र नीति निर्माणमा शून्य देखिएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘इन्जिनियर पढेका व्यक्ति बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ तर देशमा विकास निर्माण हुन सकेको छैन,’ पोखरेलले भने, ‘बालेन सरकार फेसबुकमा छ, काममा छैन, नीति निर्माणमा छैन । यो ढङ्गले शासन चल्दैन ।’
तर सरकारले राम्रो काम गरेमा कांग्रेसले सहयोग गर्ने उनको भनाइ थियो ।
पोखरेलले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको सन्दर्भ कोट्याउँदै उनको नैतिकतामाथि प्रश्न उठाए । काठमाडौँ महानगरपालिकाको मेयर हुँदा कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेको स्मरण गराउँदै उनले भने, ‘प्रधानमन्त्री भएपछि पनि अब म त्यही ग्रेटर नेपालको नक्सा प्रधानमन्त्री कार्यालयमा राख्छु भनेर भारतमा भन्न सक्नुहुन्छ ? प्रधानमन्त्रीले दोहोरो चरित्र देखाउन मिल्दैन ।’
कार्यक्रममा उनले चाडबाडको मुखमा महँगी, कालोबजारी र ग्यासको अभाव बढेको तर सरकार रमिते बनेको बताए । भोटेकोशी बाढीपीडितहरूको बिचल्ली हुँदा र राहत कोषमा पैसा थुप्रिँदा पनि सरकारले खर्च गर्न नसकेको उनको आरोप थियो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनले विदेशमा रहेका नेपाली चाडबाडमा समेत घर फर्किन नसकेको अवस्था चित्रण गरे । ‘खै विदेशका गल्ली-गल्लीमा नेपाल फर्किन रास्वपाले स्टिकर टाँसेको ?’ उनले प्रश्न गरे ।
आर्थिक लेनदेन र बिचौलियासँगको साँठगाँठबारे उठेका प्रश्नको खण्डन गर्दै नेता पोखरेलले कांग्रेसको बचाउ गरे । ‘कसले कति करोडको कुरा गर्यो भन्छ, जवाफ उसैसँग माग्नुस्,’ उनले भने, ‘कांग्रेसले एक सुकाको पनि बिचौलिया इनम सापकोटासँग डिल गरेको छैन । गगन थापाको नाम जोडेर बिचौलियाका विषयमा कृत्रिम कुरा उठान गरिएको छ ।’
मिडियालाई कीर्ते कुराको पछि नलाग्न आग्रह गर्दै उनले गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो भेटघाट मधेश सरकारको विषयमा केन्द्रित रहेको स्पष्ट पारे ।




प्रतिक्रिया