सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट चलिरहेको छ : कांग्रेस उपसभापति आचार्य


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताए । सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

उनले कार्यकारी र सरोकारवालाबीच नियमित संवाद नहुँदा विचौलियाहरूले सरकारका नाममा आफ्नो स्वार्थ पूरा गर्ने अवसर पाइरहेको बताए ।

‘जब कार्यकारी र सरोकारवालाबीचमा रेगुलर संवाद हुँदैन, यसमा विचौलियाको लागि ठाउँ बन्छ । यसले नागरिक र कार्यकारीलाई नै क्षति गर्छ । कार्यकारीको नाम लिएर बीचका विचौलियाहरूले भजाइराखेका हुन्छन् । त्यो कार्यकारीलाई पनि थाहा हुँदैन,’ उनले भने ।

आचार्यले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई स्पष्ट कारणबिना नै पदबाट हटाएको आरोप लगाए ।

सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको टिप्पणी गर्दै आचार्यले विधायिकाको भूमिकालाई कमजोर बनाउन नहुने बताए । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत रहेको र राष्ट्रिय सभामा उसको एक सिट पनि नभए पनि कुनै विधेयक पारित गर्न हालसम्म अवरोध नभएको उनले उल्लेख गरे ।

प्रमुख प्रतिपक्षी दल सरकारलाई आवश्यक सहयोग गर्न तयार रहे पनि सरकारले सहकार्यको वातावरण बनाउन नखोजेको आचार्यको आरोप थियो । सरकार आफ्नै ढंगले अघि बढिरहेको भन्दै उनले राजनीतिक दल र सरोकारवालासँग संवाद गरेर निर्णय लिनुपर्नेमा जोड दिए ।

यसैबीच, आचार्यले छोटो समयमै उल्लेखनीय जनमत प्राप्त गर्दै बहुमत हासिल गर्न सफल राजनीतिक दलका रूपमा रास्वपालाई व्याख्या गरे । इतिहासमै छोटो अवधिमा यति ठूलो जनमत प्राप्त गर्ने पार्टी रास्वपा भएको उनको भनाइ थियो ।

उनले रास्वपाले जनतालाई तत्काल आकर्षित गर्ने नारा र सन्देश अघि सारेकाले मतदाताले उम्मेदवारको पृष्ठभूमि र क्षमता पूर्ण रूपमा नबुझ्दै मत दिएको टिप्पणी गरे ।

‘जनताले तत्काल छुने आकर्षक स्लोगन थियो । स्वाभाविक रूपले मतदाता कहिलेकाहीँ तत्कालीन विषयवस्तुहरूबाट प्रभावित हुन्छन् । उहाँहरूले उम्मेदवार नचिन्दा नचिन्दै पनि मत दिएर जिताउनुभएको थियो,’ उनले भने ।

आचार्यले तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत घण्टी चुनाव चिह्न लिएर निर्वाचनमा उठेको भए विजयी हुने अवस्था रहेको टिप्पणी गरे ।

‘सबैभन्दा बढी उहाँहरूले विरोध गर्नुभएको खड्गप्रसाद ओलीले नै पनि यदि घण्टी चुनाव चिह्न लिएर उठ्नुभएको थियो भने उहाँ चुनाव जित्नुहुन्थ्यो,’ उनले भने ।

कांग्रेसमा लामो समयदेखि संगठन निर्माण र पार्टीका लागि मेहनत गरेका नेताहरूले निर्वाचनमा पराजय भोग्नुपरेको तर कांग्रेसबाट अलग भएर रास्वपाबाट चुनाव लडेका व्यक्तिहरूले अत्यधिक मतसहित जितेको आचार्यले बताए । यसले तत्कालीन राजनीतिक माहोल र मतदाताको मनोविज्ञानलाई स्पष्ट पारेको उनको विश्लेषण थियो ।

फरक प्रसंगमा आचार्यले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण सफलताको शुभकामना दिएका छन् । नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन भ्रमण उपलब्धिमूलक हुनुपर्ने उनको भनाइ थियो ।

नेपाललाई भूपरिवेष्टित मुलुकका रूपमा मात्रै नभई विश्वसँग प्रेम र सम्बन्ध विस्तार गर्न सक्ने मुलुकका रूपमा समेत प्रस्तुत गर्नुपर्ने उनले बताए ।

‘नेपाल land locked होइन, land loved पनि हो,’ उनले भने, ‘दुइटा ओठ जोड्दा लभ हुन्छ भने दुईवटा भूमि जोड्दा लभ हुन्छ । यसलाई लभका रूपमा परिणत गर्न सक्नुपर्छ ।’