एमाले अध्यक्ष ओलीले घण्टी चुनाव चिह्न लिएर उठेको भए चुनाव जित्थे : मधु आचार्य


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत घण्टी चुनाव चिह्न लिएर निर्वाचनमा उठेको भए विजयी हुने टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै आचार्यले रास्वपाले छोटो समयमै उल्लेखनीय जनमत प्राप्त गर्नुको कारण तत्कालीन राजनीतिक माहोल र मतदाताको मनोविज्ञान रहेको बताए ।

‘सबैभन्दा बढी उहाँहरूले विरोध गर्नुभएको खड्गप्रसाद ओलीले नै पनि यदि घण्टी चुनाव चिह्न लिएर उठ्नुभएको थियो भने उहाँ चुनाव जित्नुहुन्थ्यो,’ उनले भने ।

आचार्यले रास्वपाले जनतालाई तत्काल आकर्षित गर्ने नारा र सन्देश अघि सारेकाले मतदाताले उम्मेदवारको पृष्ठभूमि र क्षमता पूर्ण रूपमा नबुझ्दै मत दिएको टिप्पणी गरे ।

‘जनताले तत्काल छुने आकर्षक स्लोगन थियो । स्वाभाविक रूपले मतदाता कहिलेकाहीँ तत्कालीन विषयवस्तुहरूबाट प्रभावित हुन्छन् । उहाँहरूले उम्मेदवार नचिन्दा नचिन्दै पनि मत दिएर जिताउनुभएको थियो,’ उनले भने ।

कांग्रेसमा लामो समयदेखि संगठन निर्माण र पार्टीका लागि मेहनत गरेका नेताहरूले निर्वाचनमा पराजय भोग्नुपरेको तर कांग्रेसबाट अलग भएर रास्वपाबाट चुनाव लडेका व्यक्तिहरूले अत्यधिक मतसहित जितेको आचार्यले बताए ।