दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा


काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले चाडपर्वको सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् । दसैँ र तिहारजस्ता ठूला पर्वका समयमा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गरी प्रहरी परिचालन गरिएपछि काठमाडौंको समग्र सुरक्षा अवस्था सामान्य राख्न प्रहरी सफल भएको छ ।

एसएसपी घिमिरेले काठमाडौं प्रहरीको नेतृत्व सम्हालेपछि पहिलो ठूलो चुनौतीका रूपमा दसैँ, तिहार र छठ पर्वको सुरक्षा व्यवस्थापनलाई लिएका थिए । चाडपर्वका समयमा चोरी, लुटपाट, पाकेटमारी, ठगी, जुवातास, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने भएकाले प्रहरीले विशेष सुरक्षा योजना बनाएर काम गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत ३ हजार ५०६ जना प्रहरी परिचालन गरेकाे थियो । सुरक्षा निगरानीका लागि १ हजार २४२ वटा सीसीटीभी क्यामेरा, तीनवटा ड्रोन तथा तालिमप्राप्त कुकुरसमेत प्रयोग गर्ने योजना बनाइएको थियो ।

विशेषगरी बजार क्षेत्र, बसपार्क, बैंक तथा वित्तीय संस्था, धार्मिकस्थल र बढी भीडभाड हुने स्थानमा प्रहरीको उपस्थिति बढाइएको थियो । कलंकी, कोटेश्वर, बल्खु, गौशाला, गोंगबु बसपार्क, नागढुंगा, बालाजु, सीतापाइला र जोरपाटीलगायतका स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष सञ्चालन गरिएको थियो ।

दसैँको समयमा काठमाडौं उपत्यकाको समग्र सुरक्षा अवस्था सामान्य रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको थियो । उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरका अनुसार दसैँ अवधिमा सडक दुर्घटना, सामान्य चोरी तथा जुवातासका घटनाबाहेक ठूला आपराधिक घटना भएका थिएनन् ।

दसैँमा धेरै नागरिक राजधानी छाडेर गाउँ जाने भएकाले घर तथा कोठा चोरीको जोखिम बढी हुन्छ । त्यसलाई ध्यानमा राख्दै प्रहरीले खाली रहेका घर तथा बस्तीमा निगरानी बढाएको थियो । त्यस्तै, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने चालकविरुद्ध पनि कारबाही गरिएको थियो ।

एसएसपी घिमिरेले २०८३ जेठ २१ गते जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । उनी एसएसपी रमेश थापाको स्थानमा सरुवा भएर आएका थिए । हालसम्म उनले करिब पाँच महिना काठमाडौं प्रहरीको नेतृत्व गरिसकेका छन् ।

राजधानीको सुरक्षा व्यवस्थापन सामान्य जिम्मेवारी होइन । काठमाडौंमा दैनिकजसो राजनीतिक गतिविधि, विरोध प्रदर्शन, भीआईपी आवागमन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र विभिन्न प्रकृतिका आपराधिक गतिविधि भइरहन्छन् । यस्ता गतिविधिबीच शान्ति सुरक्षा कायम राख्नु परिसर प्रमुखको प्रमुख दायित्व हो ।

घिमिरेले जिम्मेवारी सम्हालेयता अपराध नियन्त्रण, अनुसन्धान, नागरिकलाई सहज प्रहरी सेवा तथा चाडपर्वको सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । दसैँ र तिहारजस्ता ठूला पर्वमा सुरक्षा चुनौतीका बाबजुद प्रहरी परिचालन र निगरानीलाई प्रभावकारी बनाउनु उनको नेतृत्वमा रहेको काठमाडौं प्रहरीका लागि महत्त्वपूर्ण पक्ष बनेको छ ।

राजधानीको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन प्रहरी र नागरिकबीचको सहकार्य, अपराध अनुसन्धानको गुणस्तर, नागरिकमैत्री सेवा र जनविश्वास अभिवृद्धि उत्तिकै आवश्यक छन् ।

दसैँ र तिहारमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले गरेको तयारी र परिचालनले चाडपर्व व्यवस्थापनमा प्रहरीको सक्रियता देखाएको छ । अब छठलगायतका पर्व तथा आगामी दिनका सुरक्षा चुनौती सामना गर्न काठमाडौं प्रहरीले कस्तो रणनीति अपनाउँछ भन्ने विषय पनि चासोका साथ हेरिएकाे छ ।