बनेपा–धुलिखेल सडकखण्डमा दुई बस ठोक्किँदा २५ जना घाइते


काभ्रे । काभ्रेको बनेपा–धुलिखेल सडकखण्डमा बिहीबार दुईवटा बस एकापसमा ठोक्किँदा २५ जना यात्रु घाइते भएका छन्।

बिहीबार बिहान करिब ११ः४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकापसमा ठोक्किएका हुन्।

दुर्घटनालगत्तै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। घाइतेमध्ये २१ जनालाई बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पतालमा भर्ना गरिएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।

शीर मेमोरियल अस्पतालमा उपचाररत घाइतेहरूमा काभ्रे, सिन्धुपाल्चोक, खोटाङ, काठमाडौं र सिन्धुलीलगायत जिल्लाका यात्रु रहेका छन्। उनीहरूको टाउको, खुट्टा, अनुहार, दाँत तथा छातीमा चोट लागेको छ।

त्यस्तै, धुलिखेल अस्पतालमा उपचाररत चार जना घाइतेमध्ये काभ्रेको भुम्लु गाउँपालिकाका दुई जना, पाँचखाल नगरपालिकाका एक जना र दोलखाको मेलुङ गाउँपालिकाकी एक जना रहेका छन्।

दुर्घटनापछि प्रहरीले दुवै बस र तिनका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।