काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी भएर बिहीबार मध्याह्न स्वदेश फर्किएकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरूबीच स्वास्थ्य सेवाको विकास, विस्तार तथा क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिइन्।
उनका अनुसार बैठकमा जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभाव, त्यससँग सम्बन्धित चुनौती तथा पारस्परिक चिकित्सकीय सहकार्यलाई प्रवर्द्धन गर्ने विषयले प्राथमिकता पाएको थियो।
बैठकका क्रममा श्रीलंकाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुका साथै बिमस्टेकका सातवटै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग विभिन्न साइड इभेन्टमा समेत सहभागी भएको उनले बताइन्।
त्यसैगरी, क्यान्सरलगायत गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको आपूर्तिमा देखिने अभाव र लागत न्यूनीकरणका विषयमा पनि छलफल भएको मन्त्री मेहताले जानकारी दिइन्। विशेषगरी बंगलादेशसँग सरकार–सरकार (जीटुजी) सहकार्य अघि बढाएर औषधिको मूल्य घटाउने र सहज उपलब्धता सुनिश्चित गर्ने दिशामा पहल गरिएको उनको भनाइ छ।




प्रतिक्रिया