काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नगर्न आग्रह गरेका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्तालगायत सीमा विवादका विषय भारतसँग स्पष्ट रूपमा उठाउनुपर्ने बताए।
“भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले नेपालको शिर झुकाउने काम गर्नु हुँदैन। राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको विषयमा दृढतापूर्वक कुरा राख्नुपर्छ,” तामाङले भने।
उनले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न थप हवाई रुटको व्यवस्था गर्न भारतसँग पहल गर्नुपर्ने बताए। साथै नेपालको जलविद्युत् भारतको ऊर्जा आवश्यकताका लागि उपयोगी हुन सक्ने उल्लेख गर्दै जलविद्युत् विकासमा सहकार्य गर्नुपर्ने धारणा राखे।
कर्णाली–चिसापानी जलविद्युत् आयोजना निर्माणमा भारतलाई लगानीका लागि आग्रह गर्न सकिने बताउँदै उनले नेपालले उत्पादित विद्युत्मध्ये निश्चित हिस्सा निःशुल्क पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे। अरुण–३ को सम्झौतालाई उदाहरण दिँदै उनले यस्तो मोडेलमा छलफल गर्न सकिने बताए।
तामाङले नेपालमा जलविद्युत्को सम्भावना परम्परागत अनुमानभन्दा बढी हुन सक्ने उल्लेख गर्दै नयाँ प्रविधि र अध्ययनमार्फत सम्भाव्यता पुनः मूल्याङ्कन गर्नुपर्ने बताए।
रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणबाट सिक्दै प्रभावित परिवारलाई सुरक्षित आवास र जीविकोपार्जनको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए।
उनले अब विकास निर्माणको शैली परिवर्तन गर्नुपर्नेमा जोड दिँदै नदी किनारमा जोखिमपूर्ण बस्ती र सडक निर्माण गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए। मेलम्ची र त्रिशूली क्षेत्रमा देखिएका विपद्का घटनाबाट पाठ सिकेर सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्नुपर्ने उनको धारणा थियो।




प्रतिक्रिया