चियापान कार्यक्रममा रास्वपाभित्रै कुटाकुट


बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अंसारी सहभागी चियापान कार्यक्रमपछि बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही गाउँमा पार्टीकै दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार भएको झडपमा दुवै पक्षका १० जनाभन्दा बढी कार्यकर्ता घाइते भएका छन् ।

छठ पर्वको अवसरमा रास्वपाले निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत भलुही गाउँमा सांसद अंसारीको प्रमुख आतिथ्यमा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम सकिएपछि पार्टीभित्रैका दुई समूहबीच विवाद चर्किएर झडपमा परिणत भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार रास्वपाका स्थानीय कार्यकर्ता तथा सोही वडाका पूर्ववडाध्यक्ष असलम देवान र अर्का कार्यकर्ता सुवास मन्सुरी पक्षबीच व्यक्तिगत रिसइबी तथा आरोप–प्रत्यारोपका कारण विवाद उत्पन्न भएको थियो ।

उनका अनुसार सांसद अंसारी झडप हुनुअघि नै कार्यक्रमस्थलबाट बाहिरिएका थिए । तर, चियापान कार्यक्रमकै क्रममा दुई पक्षबीच भनाभन सुरु भएको थियो । पछि दुवै समूहका कार्यकर्ता आमनेसामने भएपछि कुटाकुट भएको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय सिमराले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यता, झडपमा घाइते भएका कार्यकर्तालाई उपचारका लागि वीरगन्ज–१४ गण्डकस्थित हेल्थकेयर अस्पताल लगिएको थियो । अस्पतालमा उपचार भइरहेकै बेला दुवै पक्षका कार्यकर्ताबीच पुनः विवाद र झडप भएपछि स्थिति थप तनावग्रस्त बनेको थियो ।

अस्पताल परिसरमा भएको दोस्रो झडपपछि इलाका प्रहरी कार्यालय श्रीपुरले थप नौ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई श्रीपुर प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झडपमा घाइते भएका सात जनाको वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीलाई हेल्मेटले प्रहार गरिएको र उनीहरूको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।