सर्लाही । एकै गाउँका १३ जनाको अकाल मृत्यु हुने गरी भएको सवारी दुर्घटनाको शोकमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार (कात्तिक २८ गते) शोक बिदा दिएको छ ।
बिहीबार बिहान मकवानपुरको चिसापानी गढीमा भएको विद्युतीय हायस गाडी दुर्घटनामा परी चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना स्थानीयको ज्यान गएको थियो । एकै पटक ठूलो मानवीय क्षति बेहोरेपछि गाउँपालिका शोकमा डुबेको छ ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिहीबार साँझ एक सूचना जारी गर्दै मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै शोक बिदाको घोषणा गरेका हुन् । अध्यक्ष यादवद्वारा जारी सूचनाअनुसार शुक्रबार गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालयलगायत गाउँपालिका मातहतका सम्पूर्ण निकाय बन्द रहनेछन् ।
यसैबीच, गाउँपालिकाले शोकसन्तप्त परिवारलाई तत्काल राहत पुर्याउने उद्देश्यले आर्थिक सहयोगको निर्णयसमेत गरेको छ । गाउँपालिकाले प्रत्येक मृतकको परिवारलाई अन्तिम संस्कार तथा काजकिरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।





प्रतिक्रिया