बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता जगतप्रसाद जोशीले वर्तमान बालेन नेतृत्वको सरकार पूरा पाँच वर्ष चल्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद जोशीले रास्वपा कुनै पनि हालतमा नफुट्ने स्पष्ट पारेका हुन् ।

साक्षात्कारमा आफ्नो धारणा राख्दै जोशीले रास्वपा देशको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको उल्लेख गरे । पार्टी नयाँ भएकाले केही विषय सिक्न बाँकी रहे पनि अनुभवी पुराना नेताहरूबाट सिक्दै सबैसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ थियो । रास्वपा निरंकुशतातिर नजाने र राष्ट्रियताको रक्षाका लागि सधैँ अग्रसर रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

पुराना राजनीतिक दलहरूप्रति कडा टिप्पणी गर्दै सांसद जोशीले ३५ वर्षसम्म पुराना दलहरूले देश चलाउँदा भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले भ्रष्टाचारमा संलग्नहरू नेपाली जनताको दुश्मन भएको जिकिर गर्दै वर्तमान सरकारले सुशासनका निमित्त आवश्यक कदम अगाडि बढाइरहेको बताए ।

नेपाल–भारत सीमाको विषयलाई लिएर भइरहेका टिप्पणीहरूप्रति लक्षित गर्दै जोशीले प्रश्न गरे, “हिजोका पुराना राजनीतिक दलहरूले नदीनाला बेच्दा राष्ट्रघात नहुने, तर बालेनले नेपाल–भारत सीमाको विषयमा बोल्दैमा राष्ट्रघात हुन्छ ?”

रास्वपामा सबै वर्ग, क्षेत्र र समुदायको आकर्षण रहेको बताउँदै जोशीले पहेँलो कपडा लगाउनेदेखि बुर्का लगाउनेसम्म र किसानदेखि अमीरसम्म पार्टीमा आबद्ध भएको उल्लेख गरे । यही समावेशी सहभागिता र स्पष्ट नीतिको सिद्धान्तका आधारमा रास्वपा अघि बढ्ने उनले बताए ।