काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन सञ्चालनमा नयाँ समयसीमा तोकेको छ।
जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब उक्त रुटमा चल्ने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेभित्र फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ। यस्तै, बिहान ५ बजेपछि मात्रै बल्खुबाट उक्त रुटमा सवारी सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार जारी गरेको सूचनामा यात्रु, चालक र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै नयाँ समयतालिका निर्धारण गरिएको जनाइएको छ। प्रशासनले सम्बन्धित यातायात व्यवसायी, चालक तथा सरोकारवालालाई निर्धारित समय र सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ।
पछिल्लो समय काठमाडौँ–बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाबाट मानवीय क्षति हुने क्रम चिन्ताजनक रहेको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार साँघुरा सडक, भिरालो तथा घुम्ती मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति र रातिको समयमा अँध्यारो सडकमा यात्रा गर्नु दुर्घटनाका प्रमुख जोखिम हुन्। त्यस्तै, चालकको अत्यधिक कार्यबोझ, अनिद्रा तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको सूचनामा उल्लेख छ।
प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ।
यसैगरी, काठमाडौँ जिल्लाभित्र उक्त सडक खण्डमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको छ।





प्रतिक्रिया