काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया