२० सदस्यीय रास्वपा टोली आज चीन जाँदै


२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा हुन लागेको भ्रमण ११ दिनको हुनेछ। भ्रमणमा जान लागेको टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले आइतबार बिहान ९ बजे विमानस्थल पुगेर बिदाइ गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

महामन्त्री आचार्य नेतृत्वको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू सहभागी हुँदैछन्।

प्रतिनिधिमण्डलमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।

भ्रमणका क्रममा टोलीले चीनका विभिन्न सहरको अवलोकन गर्ने कार्यक्रम छ। प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका क्षेत्रको भ्रमण गर्नेछ।

भ्रमण टोलीका सदस्य तथा रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख डा. आनन्द चन्दले चीनले नवप्रवर्तन र प्रविधिको क्षेत्रमा हासिल गरेको प्रगतिको अध्ययन भ्रमणको मुख्य चासो रहेको बताएका छन्।

उनका अनुसार चीनले विकास गरेका प्रविधि र प्राप्त अनुभवलाई नेपालको आवश्यकता तथा क्षमताअनुसार कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन र उद्यमशीलताको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा विचार आदानप्रदान गरिनेछ।

‘कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, डिजिटल प्रविधि, नवप्रवर्तन तथा औद्योगिक विकासका क्षेत्रमा हासिल गरेका उपलब्धि, अपनाएका नीति र विकास गरेका संस्थागत अभ्यासहरूबारे बुझ्ने विशेष रुचि छ,’ चन्दले बताए।

त्यस्तै, भ्रमण टोलीका सदस्य डा. धनञ्जय रेग्मीले नेपाल र चीनबीच आपसी समझदारी तथा आत्मीय सम्बन्ध विस्तार गर्न भ्रमणले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उनले भ्रमणबाट आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार हुने अपेक्षा गरेका छन्। साथै, दुई देशबीचको राजनीतिक सम्बन्ध सुदृढीकरण र आगामी उच्चस्तरीय भ्रमणको तयारीमा समेत यसले सहयोग पुर्‍याउने उनको विश्वास छ।

चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेको थियो।