नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्।
धनगढीबाट काठमाडौँका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६ः४० बजे लोकाहा क्षेत्रमा दुर्घटनामा परेको हो। तीव्र गतिमा रहेको बस चालकले नियन्त्रणमा लिन नसक्दा सडकमा पल्टिएको प्रारम्भिक जानकारी छ।
दुर्घटनामा बसमा सवार २५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि तत्काल उद्धार गरिएका सबै घाइतेलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको छ।
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ। घाइतेहरूको पहिचान तथा अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।




प्रतिक्रिया