अवधेशको न्यायका लागि धमलाको जोडदार पहल, तर राज्यका निकाय अझै उदासीन


काठमाडौं । छठ पर्वको उल्लास बोकेर घर फर्कँदै गर्दा मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको कहालीलाग्दो इभी हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका अवधेश यादवको संसार उजाड बनाइदियो। ५०० मिटर भिरबाट गाडी खस्दा अवधेशले श्रीमती, तीन कलिला छोरी र दुई भाइ गरी परिवारका ६ सदस्य गुमाउनुभयो भने १४ महिने दूधे बालक अस्पतालको शय्यामा जीवनमरणको दोसाँधमा छन्।

यो हृदयविदारक शोकमा डुबेको परिवारको पीडामा राज्यको नजर नपरेका बेला स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले पहिलो पटक देशको ध्यान आकर्षण गराए । उनको यही साहसिक र पहिलो खबरदारीकै कारण राज्यको तल्लो तहदेखि सिंहदरबारसम्म तरङ्ग पैदा भयो र नेपाली कांग्रेसका सभापति गगन थापा, सभामुख डीपी अर्याल तथा विभिन्न दलका शीर्ष नेताहरू सर्लाही सुन्दरपुरस्थित अवधेश यादवको आँगनमा पुग्न बाध्य भए।

तर, विडम्बना– यादवको पीडामा मलम लगाउन राज्यका निकायहरूले अहिलेसम्म चासो दिएका छैनन्। भीमफेदीको भिरमा परिवार गुमाएका अवधेश यादव र मृतकका आफन्तहरू आज पनि न्याय, घाइते बालकको उचित उपचार, क्षतिपूर्ति र दुर्घटनास्थलबाटै हराएको सम्पत्ति फिर्ता पाउनका लागि रित्तो हात भौंतारिन बाध्य छन्।

अध्यक्ष धमलाले भीमफेदी दुर्घटनाको भयावहता र अवधेश यादवको परिवारमाथि आइपरेको बज्रपातको गम्भीरता बुझेर सबैभन्दा पहिले स्थलगत जोडदार खबरदारी गरेपछि राज्यका जिम्मेवार व्यक्तित्वहरूको ध्यान सुन्दरपुरतिर खिचिएको थियो। उनको खबरदारीपछि राज्यले अभिभावकत्व लिने झिनो आशा पलाएको यादवले महसुस गरेका थिए। यादवले साँच्चै न्याय पाउनुपर्नेमा धमलाले जोड दिएका छन् । दुर्घटनास्थलबाट हराएको भनिएको नगद र गरगहनाहरू तत्काल खोजबिन गरी पीडित परिवारलाई फिर्ता गरिदिन पनि धमलाले आग्रह गरेका छन् ।